Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुवित्तमार्फत कर्जा लिने बढे

लघुवित्तमार्फत कर्जा लिने बढे

‘लघुवित्तहरूको कुल कर्जा तीन खर्ब ६५ अर्ब नाघ्यो’


काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिनेहरूको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा सापट गत आर्थिक वर्षको तुलनामा ३९ दशमलव १४ प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ५५ करोड हुन पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष कुल कर्जा सापट ११ दशमलव ७२ प्रतिशतले वृद्धि भई दुई खर्ब ६२ अर्ब ७२ करोड रहेकोे थियो । त्यसैगरी २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ८७ दशमलव ८३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७२ प्रतिशत रहेको छ । निष्क्रिय कर्जाको अनुपात २०७७ असार मसान्तमा भने दुई दशमलव तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाहरूको कर्जा र निक्षेप तथा सापटी अनुपात २०७८ असार मसान्तमा एक सय आठ दशमलव २८ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा सो अनुपात एक सय पाँच दशमलव ८० प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा लिएको कुल निक्षेप तथा सापटी २०७७ असार मसान्तको तुलनामा ३५ दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन खर्ब ३७ अर्ब ६२ करोड पुगेको छ । त्यस्तै, कर्जा तथा सापट गत वर्षको तुलनामा ३९ दशमलव १४ प्रतिशतले वृद्धि भई २०७८ असारमसान्तमा तीन खर्ब ६५ अर्ब ५५ करोड रहेको देखिन्छ ।

२०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी २१ अर्ब ६८ करोड रहेकोमा २०७८ असार मसान्तमा १४ दशमलव ८५ प्रतिशतले वृद्धि भई २४ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरूको कुल पुँजीकोष २०७७ असार मसान्तमा ३७ अर्ब ३५ करोड रहेकोमा २०७८ असार मसान्तमा २८ दशमलव २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९१ करोड रहेको छ । साथै, प्राथमिक पुँजी २०७७ असार मसान्तमा ३३ अर्ब ७५ करोड रहेकोमा २०७८ असार मसान्तमा ३० दशमलव ४३ प्रतिशतले वृद्धि भई ४४ अर्ब दुई करोड रहेको छ । २०७८ असार मसान्तमा जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी अनुपात ११ दशमलव २० प्रतिशत रहेकोे छ भने पुँजीकोष अनुपात १२ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यस्तो अनुपात क्रमशः ११ दशमलव ८८ तथा १३ दशमलव १५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३४ दशमलव ३२ प्रतिशतले वृद्धि भई चार खर्ब छ अर्ब ७८ करोड हुन आएको छ । २०७७ असार मसान्तमा कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ५४ प्रतिशतले वृद्धि भई तीन खर्ब दुई अर्ब ८४ करोड रहेको थियो । २०७८ असार मसान्तमा कुल सम्पत्तिमा जोखिम भारित सम्पत्तिको अनुपात ९६ दशमलव ५८ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९३ दशमलव ८० प्रतिशत रहेको थियो ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३८ दशमलव ३१ प्रतिशतले वृद्धि भई तीन खर्ब ९२ अर्ब ८८ करोड हुन आएको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा जोखिम भारित सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब ८४ अर्ब पाँच करोड रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x