Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्रीको राजीनामा प्रकरण : राजनीतिज्ञहरूले पाठ सिक्नैपर्छ !

अर्थमन्त्रीको राजीनामा प्रकरण : राजनीतिज्ञहरूले पाठ सिक्नैपर्छ !


काठमाडौं । दुई तीन दशकसम्म राजनीति गरेर राजनीतिमा सफल भएका राजनीतिज्ञहरु राज्यसत्ता सञ्चालनमा असफल भएको थुप्रै उदाहरणहरु छन् । एक ताजा उदाहरण हो अर्थमन्त्री जनार्दन शर्मा । ०४६ सालको परिवर्तनपछि मन्त्री र प्रधानमन्त्री हुने अवसर पाएका राजनीतिज्ञहरु राज्यसत्ता सञ्चालनमा सफलता हासिल गर्ने संख्या औँलामा गन्नसक्ने मात्र होलाभन्दा अतिशयोक्ति नहोला । राष्ट्रिय स्वार्थ, पार्टीको स्वार्थ र व्यक्तिगत स्वार्थबीच सन्तुलन कायम गर्न नसकेको कारणले धेरैजसो राजनीतिज्ञहरु असफल हुन गएको हो ।

जनताको चाहना भनेको हरेक राजनीतिज्ञले शुद्ध राष्ट्रिय हितमा मात्र काम गरोस् भन्ने हो । तर, पार्टीको शीर्ष नेतादेखि साधारण कार्यकर्तासम्मको चाहना पार्टी हित पनि हेर्नैपर्छ भन्ने हो । त्यसमाथि अधिकांश राजनीतिज्ञले व्यक्तिगत स्वार्थको अलावा आफ्नो घरपरिवार, इष्टमित्र, छिमेकीलाई पनि केही भलाइ गरिदिऊँ भन्ने चाहना राख्ने गरेको जनताको माझमा प्रमाणित भइसकेको तथ्य हो । नेता जनार्दन शर्माले यो सन्तुलन मिलाउने काममा नराम्रोसँग चुकेको प्रस्ट देखिन्छ । नेतृत्वक्षमता कमजोर भएका राजनीतिज्ञले यो सन्तुलन मिलाउनेजस्तो जटिल काममा चुक्छ । नेता शर्माले आफूमा भएको नेतृत्वको गुणहरुबारे आफैँले विश्लेषण गरेर कमजोर गुणहरुको पहिचान गरी सुधार गर्नसकेमा भविष्यमा एक सफल राजनीतिज्ञ हुन नसकिने होइन ।

आधारभूत नेतृत्व सीपको अलावा एक राजनीतिज्ञमा नभई नहुने केही असाधारण नेतृत्व सीपहरुमा आत्मबोध, आत्मव्यवस्थापन, निर्णयमा निष्पक्षता, पारदर्शिता, अरूको कल्याण गर्नेमा रुचि, सत्यनिष्ठा, विश्वसनीयता, मूल्यमान्यतामा आधारित सही मूल्यांकन, निरन्तर रूपमा ज्ञान प्राप्त गर्दै आफ्नो र अर्काको समेत सामथ्र्य र बौद्धिक क्षमता विकास गर्नेमा चासो आदि पर्दछन् । यी सीपहरुले एक उच्च दर्जाको सक्रिय र प्रभावशाली नेतृत्व स्थापित गर्न मद्दत गर्छ ।

आधारभूत नेतृत्व सीप भन्नाले भिजन, तीक्ष्ण मन, भविष्यको अनुमान गरी योजना बनाउने सीप, साहस, निर्णय गर्ने क्षमता, आपसमा खुला संवादको वातावरण निर्माण गर्ने कुशलता, अरूलाई प्रभाव पार्ने र प्रेरणा दिने कला, आफ्नो स्वार्थलाई समेत दाउमा राखेर खतरा मोल्नसक्ने सामथ्र्य, सबैलाई नतिजा–केन्द्रित बनाउन सक्ने सीप र सधैँ फुर्तिलो, सक्रिय भइराख्न स्वभाव पर्छन् । यी सीपहरू अध्ययन र तालिमबाट सिक्न सकिन्छ । तर केही व्यक्तिहरूको स्वभावमा नै यी गुण पर्याप्त मात्रामा भएको हुन्छ र उनीहरूलाई जन्मजात नेताको रूपमा लिने गर्छ । यी आधारभूत सीप कसैको जीवनमा कुनै पनि क्षेत्रमा तरक्की गर्न पर्याप्त भए पनि असाधारण समूहमा पर्ने नेतृत्व सीप नभईकन उत्कृष्ट नेतृत्व प्रदर्शित गर्न सक्दैन । प्रधानमन्त्री र मन्त्रीहरुसँग आधारभूत र असाधारण दुवै कोटीको सीप नभई उत्कृष्ट नतिजा आउँदैन ।

विज्ञहरूले गरेको एक अध्ययन–अनुसन्धानमा विश्वका ठूला–ठूला प्रख्यात नेताहरूमा असाधारण कोटीमा पर्ने नेतृत्व सीपहरू प्रचुरमात्रा भएको पाइएका छन् । हाम्रो मुलुकमा २००७ सालपछिको आधुनिक नेपालमा राज्यसत्ता सम्हालेका हरेक राजा र प्रधानमन्त्रीले शासन चलाउँदा माथि उल्लिखित झण्डै दुई दर्जन नेतृत्व सीपमध्ये कुन–कुन सीपमा उनीहरू चुकेको कारणले मुलुक अहिले एसियाकै पिछडिएको मुलुकमा पर्न गएको हो भन्ने विषयमा अध्ययन–विश्लेषण गरेमा वर्तमान र भावी नेताहरूले सुधार गर्दै अघि बढ्न मद्दत पुग्न सक्छ ।

उत्कृष्ट नेतृत्वको अर्को एक पक्ष सम्बन्धमा एक जना विद्वान्ले भनेका थिए– उत्कृष्ट नेतृत्वको पहिचान भनेको सकेजति बढी संख्यामा अरू नेता उत्पादन गर्ने हो, बढी अनुयायी उत्पादन गर्ने होइन । नेपालको गत ३२ वर्षको राजनीतिक गतिविधिलाई नियालेर हेर्दा हरेक पार्टीका हरेक नेताको मनसाय बढी अनुयायी उत्पादन गरी आफ्नो शक्ति र पराक्रम बढाउँदै आफ्नो समूह वा गुट तयार पार्नेजस्तो देखिन आएको छ ।

लोकतन्त्रमा राष्ट्रनिर्माण गर्न अधिकतम उत्कृष्ट नेताहरू उत्पादन गर्न हरेक पार्टीले विधानहरू नै परिवर्तन गर्नुपर्ने देखिन्छ । तीन करोड जनतामध्ये उत्कृष्ट नेतृत्व क्षमता भएका व्यक्तिहरूको खोजी गर्दै पार्टीमा भित्र्याउने कोसिस गर्नु नै हरेक पार्टीको एक प्रमुख काम कर्तव्य हुनुपर्ने हो । जन्मजात नेताहरूको खोजी गर्न एक मेकानिज्म हरेक पार्टीले बनाउनैपर्छ । यसरी नेतृत्व सीप भएकाहरू राजनीतिमा प्रवेश नगरेसम्म कम समयमा मुलुक उँभो लाग्न कठिन छ । विश्वको अन्य लोकतान्त्रिक मुलुकहरूले सबल नेताहरू पाउन निकै समय लागेको धेरै उदाहरण छन् ।

लोकतन्त्रमा हुने गरेको केही अन्तर्निहित कमजोरीमध्ये राजनीतिक पार्टीहरूले राम्रा, असल र उत्कृष्ट नेतृत्व क्षमता भएका नागरिकलाई राजनीतिमा आकर्षित गर्न नसकेको एक ठूलो कमजोरी हो । पार्टीहरूले यस मामिलामा विशेष ध्यान दिएर आआफ्नो विधान, नियम, सोच, विचार र प्रवृत्तिमा ठूलो परिवर्तन ल्याउनैपर्छ, अन्यथा लोकतन्त्रबाट जनता झन्झन् निराश हुँदै जाने सम्भावना रहिरहन्छ ।

नेतृत्वको विषयमा बुझ्नु जरुरी अर्को एक तथ्य भनेको प्राचीनकालदेखि अहिलेको आधुनिक युगसम्म पनि नेतृत्वको विशेषता, सीप र कलामा खासै परिवर्तन आएको छैन । प्रविधि विकासले व्यवस्थापन, संस्कार र कार्यशैलीमा परिवर्तन ल्याउँछ तर नेतृत्व सवालमा कुनै परिवर्तन ल्याउन सक्तैन । नेतृत्वको सिद्धान्त अपरिवर्तनीय छन्, समयअनुसार परिवर्तन हुँदैन । अब्राहम लिंकनदेखि महात्मा गान्धी, लि क्वान यु र देङ स्याओ पिङसम्मका सबै नेताले आआफ्नो नेतृत्व सीपको प्रयोग गरी साधारणतया असम्भव देखिने कठिन काम गर्न सफल भएका हुन् ।

कुनै पनि राष्ट्रमा गम्भीर संकट आउँदा एक किसिमको भावनात्मक मार्गदर्शनका लागि सबै जनताको नजर सरकार प्रमुख प्रधानमन्त्रीलगायत मन्त्रीहरुमा परिरहेको हुन्छ । हरेक दृष्टिकोणले हाम्रो मुलुक अहिले गम्भीर संकटमै भएको मान्नुपर्छ र वर्तमान समयमा त सबैको दृष्टि अर्थ मन्त्रालयमा बढी केन्द्रित हुने नै भयो । अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेको मन्त्री शर्मा आधारभूत नेतृत्व सीप राम्रै भए पनि असाधारण कोटीको नेतृत्व सीमको मामिलामा नराम्रोसँग चुकेको प्रमाणित भयो ।

अबका दिनहरुमा हरेक राजनीतिज्ञले आधारभूत र असाधारण दुवै नेतृत्वक्षमता प्रदर्शन गरेर मुलुकलाई वर्तमान आर्थिक संकटबाट पार लगाएर प्रगति पथमा लिएर जान ढिलाइ गर्नुभएन । जनता सधैँ धैर्य गरेर चुपचाप बस्छन् भन्ने मान्यतामा जानु ठूलो गल्ती हुनेछ । आर्नोल्ड ग्लासो नामको एक अमेरिकी लेखकको भनाइअनुसार कसैको नेतृत्वक्षमता परीक्षण गर्ने एक मापदण्ड भनेको आपत्कालको स्थिति आउनुअगावै समस्या पहिचान गर्नसक्ने खालको दूरदृष्टि छ वा छैन हेर्ने हो ।

हाम्रा राजनीतिज्ञहरुको नेतृत्व क्षमताको परीक्षण सुरु भइसकेको छ । काठमाण्डौ मेयरमा बालेन शाहको जित र अर्थमन्त्रीको राजीनामालाई जनताले राजनीतिज्ञहरु माथि गरेको परीक्षणको रुपमा लिनुपर्ने हुन्छ । अर्थमन्त्रीको राजीनामा एक अपवाद हो भनेर अरु राजनीतिज्ञहरु ढुक्क भएर बस्नु महाभूल हुन्छ । हरेक राजनीतिज्ञले नेतृत्व सीपसम्बन्धी पुस्तक नै पढेर दुई/चार दिनको तालिम समेत लिनु उचित हुन्छ । उत्कृष्ट नेतृत्वक्षमता नभएका राजनीतिज्ञहरुले गत ३२ वर्षमा भइरहेको औसत आर्थिक तथा सामाजिक प्रगतिलाई उल्लेखनीय रुपमा वृद्धि गर्न सक्तैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x