Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविप्रेषण आप्रवाहलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन सीबीफिनको आग्रह

विप्रेषण आप्रवाहलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन सीबीफिनको आग्रह

सीडी रेसियोलाई ९५ प्रतिशत पु-याई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सुझाव


काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण अर्थात् रेमिट्यान्स रकमको प्रयोगलाई प्रभावकारी एवं व्यवस्थित बनाउनको लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आग्रह गरेको छ । वर्तमान समयमा अझ पेचिलो बन्दै गएको तरलताको समस्या समाधान र क्रमशः घट्दो अवस्थामा रहेको विप्रेषण आप्रवाहलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि सीबीफिनले सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदै यस्तो अवस्थाबाट अर्थतन्त्रलाई माथि उठाउनको लागि १५ बुँदे सुझाव समेत दिएको छ ।

सीबीफिनका अनुसार स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मदत पुग्नेछ । अनावश्यक र विलासिताका वस्तुहरूको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने सुझाव पनि सीबीफिनले दिएको छ । विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने– विप्रेषणको निश्चित हिस्सालाई बचत गर्न आकर्षित योजनाहरू ल्याउने, विप्रेषणमा विशेष ब्याजदर उपलब्ध गराउने, बीमामा विशेष सुविधा उपलब्ध गराउने, सामाजिक सुरक्षा कोषमा सहभागी गराउने, नेपालमा फर्केर उद्योग सञ्चालन गर्न चाहेमा निजको क्षमतालाई विश्लेषण गरी निजले बचत गरेको रकमको दशौँ गुणासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने आईपीओमा आरक्षणको व्यवस्था गर्ने, गैरआवासीय नेपालीहरूका लागि आकर्षक बचत र उत्पादनजन्य उद्योगमा लगानी गर्न विशेष योजना ल्याउनुपर्ने सीबीफिनको सुझाव रहेको छ ।

यसैगरी मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्ने, बैंक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको मुनाफाको वितरणको निक्र्यौल गर्ने अधिकार पूर्वव्यवस्थाअनुरूप नै सम्बन्धित संस्थाहरूलाई दिने तथा अर्थतन्त्रले थेग्न नसक्ने गरी बढेको व्यापारघाटा र समस्याग्रस्त बन्दै गएका उद्योग व्यवसायहरूको पुनरुत्थानका लागि विशेष व्यवस्था गर्न पनि परिसंंंघले सुझाव दिएको छ । यसो गर्न सकेका देशमा व्यापार÷व्यवसाय गर्ने वातावरण सुधार गरेर बैंकिङ क्षेत्रबाट निजी क्षेत्रलाई जाने कर्जाका सन्दर्भमा पनि उत्पादनजन्य उद्योगहरूमा केन्द्रित गर्ने वातावरण निर्माण गर्दा देशमा औद्योगीकरणको लागि पुँजी पर्याप्त हुने र व्यापारघाटा कम गर्नको लागि योगदान पुग्ने विश्वास सीबीफिनको रहेको छ ।

सीबीफिनका अनुसार यस्ता प्रकारका ऋणहरू कृषि तथा पर्यटनजन्य उद्योगहरू, साना, घरेलु तथा मझौला उद्योगहरू, रोजगार एवं निर्यातमूलक उद्योगहरू, पूर्वाधार विकास निर्माणजन्य उद्योगहरूजस्ता क्षेत्रमा केन्द्रित गर्दा राष्ट्रिय उत्पादनमा बढोत्तरी हुने र त्यस्ता उद्योगबाट नै ठूला उद्योगका लागि चाहिने आधार निर्माण भई प्रत्यक्षरूपमा आयात प्रतिस्थापन वा निर्यात प्रवर्द्धनमा सहयोग हुन गई व्यापारघाटा कम हुने देखिन्छ । साथै, यस्ता प्रकारका उद्योगहरूमा अफ टाइममा सस्तो दरमा विद्युत् उपलब्ध गराउँदा विद्युत्को खपतमा वृद्धि भई पेट्रोलियम पदार्थको उपयोग कम हुने र उत्पादनमा समेत वृद्धि भई आयत कम हुने देखिन्छ  ।

अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा चार प्रतिशत कम गरी उपलब्ध गराउने, महिलाहरूले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा उक्त रकमको स्रोत नचाहिने व्यवस्था गर्दा महिलाहरूको आर्थिक एवं सामाजिक सशक्तीकरणमा टेवा पुग्नुको साथै आर्थिक तरलतामा सहयोग पुग्ने सीबीफिनको विश्वास रहेको छ ।

यसो गर्न सकेको खण्डमा कृषि परियोजना गर्ने सूचीकृत कम्पनीलाई ऊर्जामा जस्तै लगानी गर्दा स्रोत नचाहिने व्यवस्था गर्दा सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका साथै आयात प्रतिस्थापनमा सहयोग पुग्ने सीबीफिनको भनाइ छ । ठूला उत्पादनजन्य कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूको उत्पादन सञ्जालसँग जोड्नका लागि आवश्यक ऋण प्रवाहको व्यवस्था मिलाउन, उत्पादनजन्य उद्योगहरूमा बढी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान र पुरस्कारको व्यवस्था गर्न पनि सीबीफिनले सुझाव दिएको छ ।

अति आवश्यक कृषिजन्य कच्चापदार्थबाहेक अन्य कृषिजन्य वस्तु तथा सामग्रीको आयातमा रोक लगाउने, नेपाली मौलिक वस्तुहरूको उत्पादनमा लगानी विस्तार गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उपयोगमा विशेष जोड दिनुपर्ने सुझाव सीबीफिनको रहेको छ । यसो गर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघीय/प्रदेश/स्थानीय निकायका कर्मचारी र विद्यार्थीहरूको पोसाक, जुत्ता, व्याग, पिउने पानी आदि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ, सीबीफिनले भनेको छ । फजुल खर्च र अनावश्यक वस्तु तथा सेवाको प्रयोगलाई निरुत्साहित गर्दै बचत गर्न प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सीबीफिनले नेपालका मौलिक उत्पादनहरू– अदुवा, अलैँची, प्राकृतिक रेशा (अल्लो, भांग्रो), मसलाजन्य वस्तुहरू, हातेकागज, जडीबुटी, तयारी पोसाक, रेशम र्यान र कपडाको साथै अचार, सातु चिउरा (जसको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको रनिर्यात हुने प्रचुर सम्भावना रहको छ) को वर्तमान अवस्था, योगदान र आगामी कार्यदिशाका विषयमा समेत अध्ययन गरिरहेको र उक्त प्रतिवेदन समेत निकट भविष्यमै सम्बन्धित निकायहरूमा बुझाइ सार्वजनिक गर्ने तयारी गरेको जानकारी पनि दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x