Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअर्थतन्त्र सुधारका लागि साना किसानहरूलाई सबल बनाउनुपर्नेमा विज्ञहरूको जोड

अर्थतन्त्र सुधारका लागि साना किसानहरूलाई सबल बनाउनुपर्नेमा विज्ञहरूको जोड


काठमाडौं । कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरूलाई सवल बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरूले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानहरूलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले किसानहरूलाई उत्पादनसँगै उत्पादित वस्तुहरूको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए ।

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैँले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरूलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरूलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरू नै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चापदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानहरूको जीवन रूपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए । ग्रामीण क्षेत्रमा साना किसानहरूले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी गरे ।

उनले पूर्वको मेचीदेखी पश्चिम महाकालीसम्मका साना किसानहरूलाई गोलबद्ध गर्दै पुँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए । पुँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सुसूचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मूलधारमा ल्याउन सफल भएको दाबी गरे । पछाडि परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकासलगायतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए ।

यसैगरी कार्यक्रममा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिबी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । अरु बैंक तथा वित्तीय संस्थाहरू गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टीकृत विशेषतासहित किसानहरूलाई लक्षित गरी स्थापना भएको तत्कालीन साना किसान विकास बैंक र हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. लाई अब उत्पादनसँग जोड्दै जानुपर्ने आवश्यकता रहेको उनको धारणा थियो ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरूलाई सहयोग गर्ने एक मात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताए ।

नेपालका पाँच सय ४० वटा स्थानीय तहमा पहुँच विस्तार गरेको यस लघुवित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रूपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए । उनले सरकार र साझेदार संस्थाहरूसँगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताए ।

लघुवित्तको २१औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पु-याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरेको थियो । यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा सर्वोत्कृष्ट संस्थाका रूपमा साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर धनुषालाई पुरस्कृत गरेको छ । यसैगरी इलाका कार्यालय बनेपाअन्तर्गत उत्कृष्ट संस्थाका रूपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुरस्कृत भएको छ ।

सर्वोत्कृष्ट इलाका कार्यालयका रूपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ । साना किसान विकास आयोजनाका रूपमा विसं २०३२ सालदेखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रूपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रूपमा साना किसान सहकारीहरूलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा एक हजार दुई सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ ।

यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका पाँच सय ४० स्थानीयतहसम्म पुगेको छ । १० लाखभन्दा बढी घरपरिवारमा ८१ अर्ब रुपैयाँको कारोबार रहेको अहिलेको अवस्थामा सहकारीहरूमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x