Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४३ जना स्रष्टा पुरस्कृत

४३ जना स्रष्टा पुरस्कृत


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउँदै स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए । उनले सम्मानबाट स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य स्रष्टाहरूको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए । मुलुकको प्रतिष्ठा उच्च बनाउन स्रष्टाबाट थप योगदान हुने उनको भनाइ थियो ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल रहेका छन् । प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् भने महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो ।

यस्तै गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मान गरिएको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x