Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघर–घरमा रोपियो तुलसी

घर–घरमा रोपियो तुलसी


काठमाडौं । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट बिरुवा निकालिएर असार शुक्ल एकादशीका दिन तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आइतबारदेखि सुरु भएको छ । तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।

सनातनी हिन्दू परम्पराअनुसार प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । सोही दलबाट बिरुवा निकालेर असार शुक्ल एकादशीका दिन घरमा रहेको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म विशेष पूजाआराधना गरिने चलन छ । सोहीअनुसार आइतबार देशभरका हिन्दु धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा रोपेका हुन् । तुलसी वैज्ञानिक र औषधीय गुणले युक्त भएको कारण पनि घर–घरमा यसको मठ बनाएर पूजाआराधना गरिने चलन बसालेको बताइन्छ । तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्था बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुने आयुर्वेद क्षेत्रमा लामो समय काम गरेका प्राडा चन्द्रराज सापकोटा बताउँछन् । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । कोहीले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । कसैले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आइरबार बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको थियो । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्नेगरेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहेको छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x