Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन प्रवर्द्धनमा भुलिएका पक्ष

पर्यटन प्रवर्द्धनमा भुलिएका पक्ष


काठमाडौं । विकास त्यहाँ उपलब्ध प्राकृतिक स्रोत, मानव साधन, पुँजी र प्रविधिको आदर्श अभ्यासबाट हुने गर्दछ । पर्यटनका माध्यमबाट कतिपय मुलुकहरुले आर्थिक विकास र समृद्धिमा फड्को मारेका छन् । पर्यटनको विकासले बहुआयामिक भूमिका खेल्दछ । पर्यटन नेपालको आर्थिक विकास, सामाजिक एकीकरण विश्व आबद्धताको माध्यम हो । परम्परागत अवस्थादेखि नै नेपालको पर्यटन विकासको महत्वलाई इतिहासले उजागर गर्दै आएको छ । पर्यटनले कुनै पनि मुलुक (स्थान) का लागि तीन कुराले महत्व राख्दछ ।

पहिलो महत्व आय वृद्धि हो । विभिन्न आर्थिक क्रियाकलापमार्फत हुने रोजगारी, वस्तु तथा सेवा बिक्रीले आयवृद्धि हुन्छ । पर्यटनको माध्यमबाट एकैचोटि धेरै विषयका आर्थिक क्रियाकलापलाई सघाउ पु-याउन सकिन्छ । यसले सामान्य श्रमिक, कृषकदेखि ठूला उद्यमशील क्षमता भएका व्यक्तिलाई एकसाथ आर्थिक क्रियाकलापमा सहभागी गराउँदछ । सम्पन्न व्यक्तिहरु लगानी गर्न, उद्यमशील व्यक्तिहरु व्यवसाय सञ्चालन गर्न, श्रमिकहरु श्रम गर्न, कृषकहरु आफ्नो उब्जनी बेच्न सक्छन् । यसर्थ पर्यटनले एकसाथ विभिन्न क्षमताका व्यक्तिहरुलाई आयवृद्धिका अवसर दिन्छ ।

दोस्रो महत्व पहिचान विस्तार हो । पर्यटनको माध्यमबाट कुनै पनि मुलुक/क्षेत्रको पहिचान अर्को मुलुक/क्षेत्रसम्म विस्तार हुन्छ । जसले ठाउँहरुलाई सम्बन्धको पृथकीकरण (आइसोलेसन) बाट पर पु-याई आबद्धतामा ल्याउँछ । त्यस स्थानको मौलिक विशेषता र चिनारीको विस्तार हुनपुग्छ । तेस्रो महत्व, सम्बन्ध सुदृढीकरण हो । पयर्टनमार्फत हुने वस्तु, सेवा र मानवीय क्रियाकलापको विस्तारले एक स्थान र अर्को स्थानबीच, एक मुलुक र अर्को मुलुकबीच, एक क्षेत्र र अर्को क्षेत्रबीच र एक व्यक्ति र अर्को व्यक्तिबीच मानवीय, आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिकलगायतका सम्बन्ध विस्तार र सुदृढीकरण हुन्छ । जसले भाइचारा, ऐक्यबद्धता लगायत विकासका अरु थुप्रै सम्भावनालाई उजागर गर्दछ । विश्वका चिनिएका सहरहरु यसका उदाहरण हुन् ।

पर्यटन विकासले आर्थिक विकासको अर्को सम्भावना पनि उजागर गर्दछ । त्यो हो वातावरणमैत्री विकास । पर्यटनका माध्यमबाट हुने साहसिक खेल, पदयात्रा तथा पर्वतारोहण, दृश्यावलोकन, जलयात्रा, सभासम्मेलन, जात्रा मेला अवलोकन, योग साधना, अध्ययन अनुसन्धानजस्ता कार्यबाट वातावरणलाई अन्य आर्थिक क्रियाकलापभन्दा कम वातावरणीय क्षति पुग्छ । साथै यस्ता कार्यमा साधनको उपभोग्य विनास (कन्जम्टिभ युज) हुँदैन ।

कतिपय मुलुकहरु पर्यटन विकासका कारणले मात्र विकसित बनेका छन् । हङकङ, मकाउ, न्यूयोर्क, वैंङ्कक, जेनेभा, सिङ्गापुर, मनिला, भिएना, नैरोबीलगायतका सहरहरुको प्रमुख आर्थिक आधार पर्यटन हो । नेपालको सुन्दर सहर पोखरा पर्यटनका कारण विकसित छ । यसर्थ नेपालले पनि जैविक विविधता, प्राकृतिक सौन्दर्य, विश्व समुदायमा रहेको छवि, कतिपय विषयमा एकाधिकार, सांस्कृतिक वैभव, कतिपय सम्पदा र वैभवका विषयमा एकाधिकार (जस्तो सगरमाथा, कुमारी, बुद्धजन्म स्थल, पशुपति आदि), नीति उदारीकरण र पर्यटन नीति, सस्तो वस्तु सेवाहरुको उपलव्धता जस्ता कारणहरुले गर्दा पर्यटन विकासबाट फइदा लिनसक्ने प्रशस्त सम्भावना छ । सबैभन्दा महत्वपूर्ण नेपालीहरुको सहयोगी जनसंस्कृति र आदर्श जीवनशैली (हस्पिटालिटी कल्चर) ले पर्यटन विकासमा फड्को मार्नसक्ने सम्भावना बोक्दछ ।

प्रशस्त सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अर्थतन्त्रमा खासै योगदान पु-याउन सकेको छैन । रोजगारी र उत्पादनमा यसको योगदान नगण्य छ । भएको संभावनाको उपयोगका लागि नेपाल सरकारले विगतका दिनहरुमा सीमित रुपमा भए पनि योजनाबद्ध प्रयास गर्दै आएको छ । अर्थतन्त्रको उदारीकरणको अभिन्न भागका रुपमा नब्बेको दशकमा पर्यटन नीति र हवाइ नीति ल्याइयो भने पर्यटन क्षेत्रमा रहेको व्यावसायिक क्षेत्रको सम्भावना उपयोगको सहकार्यका लागि पर्यटन विभागको खारेजी गरी पर्यटन बोर्ड स्थापना गरियो । महत्वाकाङ्क्षी योजनाका साथ नेपाल भ्रमण वर्ष, १९९८ को अवधारणा ल्याइयो । जसले विश्वसामु नेपालका पर्यटन गन्तव्यको प्रचारप्रसार हुन गयो । पर्यटन विकासलाई आर्थिक कूटनीतिको अभिन्न भागका रुपमा समावेश गर्ने अवधारणा अवलम्बन गरियो । विदा पर्यटनको सुुरुवात, पर्यटन वर्ष, घरवास कार्यक्रम, पर्यटन मेला र महोत्सवको आयोजना, लुम्बिनी वर्ष, पर्यटन अभियान वर्षजस्ता कार्यक्रमले पनि पर्यटन विकासको विस्तारमा केही योगदान पु-यायो । वार्षिक २० लाख पर्यटन भित्र्याउने महत्वाकाङ्क्षी सोचका साथ पर्यटन विकास रणनीति जारी गरियो । तर यही समय विश्वले भोग्नुपरेको कोभिड महामारीका कारण पर्यटन व्यवसाय थला पर्न गयो ।

सन् २०१९ मा ११ लाख, ९७ हजार पर्यटक नेपाल भित्रिएकोमा २०२० मा दुई लाख ३० हजारमा झर्न पुग्यो । २०२१ मा यो संख्या एक लाख ५० हजारमा झर्न पुग्यो । २०७७/७८ को बजेट कार्यक्रममार्फत सरकारले थला परेको पर्यटन व्यवसायलाई राहत दिन कर, ब्याज, ऋणको पुनर्तालिकीकरणलगायतको प्रोत्साहनका कार्यक्रम घोषणा गरेको थियो । तर पर्यटन व्यवसायीहरु सरकारले घोषणा गरेको सहुलियतबाट लाभान्वित हुन नसकेको गुनासो गरिरहेका छन् । कोभिडबाट शिथिल भएको पर्यटन क्षेत्रमा आक्रामक पुनरुत्थानका लागि सरकारका तहहरबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।

पर्यटन विकासका लागि सरकारले गर्ने सहयोग व्यवसायीको नाफाका लागि होइन, समस्त अर्थतन्त्रका लागि गरिएको प्रयास हो भन्ने बुझाइ विकास भएको छैन । नेपालजस्तो विकास, आर्थिक आबद्धता र रोजगारीको कमजोर अर्थतन्त्रका लागि यसले सफ्ट इन्पुट हो । कोभिडबाट शिथिल भएका पर्यटन व्यवसायलाई राहत तथा पुनर्स्थापना प्याकेजको व्यवस्था गर्नुपर्दछ । यसका साथै पूर्वाधार संरचना विकास, डिजिटल पूर्वाधार व्यवस्थापन, व्यापक प्रचारप्रसार, अन्तरक्षेत्रगत समन्वय, हवाइ सम्बन्ध विस्तार जस्ता कार्यक्रम पनि आवश्यक देखिएका छन् । खड्किएको विषय न्यून क्षमता पनि हो । होटेलको सेवा सुविधादेखि ट्रेकिङ, गाइड र सहयोगी भरियासम्मको मित्रवत व्यवहार र हसिलो प्रस्तुति पनि पर्यटन प्रवर्द्धनमा उत्तिकै सहयोगी हुन्छन् । त्यसैले पर्यटनलाई गर्ने व्यवहारदेखि दिइने सेवा र विपदमा गरिने उद्धारसम्मका विषयमा तालीम, अभिमुखीकरण सम्बद्ध पक्षलाई दिइनु जरुरी छ । होटेल व्यवस्थापन तथा पर्यटन तालिम प्रतिष्ठान (नाथम) ले होटल व्यवसाय, टुर तथा ट्रेकिङ् अपरेसन र हस्पिटालिटी सेवाको सीपमूलक तालिम दिँदा पनि पर्यटन व्यवसायमा निकै योगदान पुग्न सक्छ ।

नेपालमा आउने पर्यटक कम खर्चिला हुन्छन्, थोरै अवधि रहन्छन् । धेरै खर्च गर्ने पर्यटकहरु ल्याउन र धेरै दिन राख्न मनोरञ्जनका प्याकेजहरु समावेश गर्नुपर्दछ । संस्ता पर्यटकहरु आर्थिक सामाजिक विकासमा योगदान गर्दैनन् । साथै भूअवस्थितिले दिएको सम्भावनाले उपयोग गर्न केबलकार, बन्जी जम्प, प्याराग्लाइडिङ, जिप लाइनिङ, रक क्लाइम्बिङजस्ता क्षेत्रमा लगानीको वातावरणका लागि सार्वजनिक, निजी साझेदारीका आयोजना सञ्चालन गर्नुपर्छ । नेपाल सभा, बैठक, प्रदर्शनी, साधनाजस्ता माइस क्षेत्रमा निकै सम्भावना बोक्छ । नेपालको अवस्थिति, शिष्टाचार संस्कार र सस्तो श्रमले माइस पर्यटन सम्भावना देखाइरहेको छ । यसका लागि प्रचारप्रसार र प्रदर्शन प्रभाव पार्न जरुरी छ ।

वातावरण संरक्षणविना पर्यटन प्रवर्द्धन गर्न सकिँदैन भने पर्यटन विस्तारले वातावरण संरक्षण बिग्रिन सक्तछ । त्यसैले वातावरण र पर्यटन व्यवसायबीच उपयुक्त सन्तुलन ल्याउने रणनीति अवलम्बन गरिनुपर्दछ । एउटा लुकेको सम्भावना के छ भने विश्वभरि छरिएर रहेका नेपालीहरु डायस्पोरा परिचालन गरेर समृद्धिको रणनीति लिन सकिन्छ । पर्यटन प्रवर्द्धनका लागि डायस्पोरामध्येबाट ब्राण्ड एम्बेसेडर अभ्यासमा ल्याइनु पर्दछ । अहिले विभिन्न मुलुकमा गरी ६० लाखभन्दा बढी नेपालीहरु नेपालबाहिर छन्, जो विदेशमा बसे पनि नेपाली मन र नेपालप्रतिको चिन्तामा छन् । उनीहरु नेपाली सद्भावना दूत पनि हुन् । उनीहरुलाई उपयोग गर्न सकिएमा लाखौँको संख्यामा पर्यटन नेपाल भित्र्याउन सकिन्छ ।

ससाना कामबाट पनि पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न सकिन्छ । जस्तो सडक, बस बिसौनीस्थल, घोडेटो बाटोमा हरियाली, चौतरी, सिंगारपटारजस्ता कुराबाट केही क्षण भए पनि पर्यटनलाई अड्याउन सकिन्छ, जसको ठूलो असर पर्न सक्छ । साथै पर्यटनको विविधीकरण गर्नु उत्तिकै जरुरी छ । आममानिसमा रहेको पर्यटकसम्बन्धी सोच भनेको नेपालमा घुम्न आउने समुद्रपारका मानिस मात्र पर्यटक हुन र घुम्ने काम पर्यटन हो । यस बुझाइमा नया अभिुमखीकरणलाई शिक्षा, स्वास्थ्य, चलचित्र, योग साधना, खेल, सभा सम्मेलन, साहसिक यात्रा, अनुसन्धान, लेखन, कृषि, सञ्चार, विवाह जस्तै धेरै क्षेत्रलाई पर्यटनले समेट्ने भएकाले पर्यटन विविधीकरणको रणनीति लिइनुपर्दछ, जसबाट हाम्रो सम्भावनाको दोहन हुन सकोस् ।

निर्मित संरचना तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वर्द्धन नगरिए प्रचार संवेदनशील पर्यटन क्षेत्रबाट लिन सकिने लाभ फुत्किन सक्छ । यस क्षेत्रमा सरकारबाट निर्माण भएका, प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहरहरु, जैविक विविधताका क्षेत्रहरु संरक्षण र सम्वर्द्धनका लागि सरकारका तहबीच सहकार्य, निजी क्षेत्र वा विकास समिति र सामुदायिक क्षेत्रबीच सहकार्य आवश्यक देखिन्छ । यसका लागि छुट्टै निर्देशिका वा कार्यविधि जारी गर्नु आवश्यक छ  । साथै पर्यटन विकासको साझा मञ्च स्थापना गरी यस क्षेत्रको विषयमा लिइएका नीति रणनीति तथा कार्यक्रमको प्रभावकारिता विश्लेषण गरी सहजीकरण गर्न सम्बद्ध सरोकारवालाहरु समावेश भएको साझा सहकार्य स्थल (प्लेटफर्म) को व्यवस्था आवश्यक छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x