Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथेग्नै नसक्ने व्यापारघाटा

थेग्नै नसक्ने व्यापारघाटा


काठमाडौं । सरकारले अत्यावश्यकबाहेकका विलासी वस्तुहरु आयातमा पछिल्लो समय कडाइ गरे पनि अर्थतन्त्रमा यसको प्रभाव न्यून मात्रामा देखिएको छ । विदेशी मुद्रा सञ्चिति बढाउन र बढ्दो व्यापारघाटालाई नियन्त्रण गर्दा सरकारले विलासिताका वस्तुहरुको आयात कडाइ गरेको थियो । तर, यसको बाबजुद पनि चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको कुल वस्तु व्यापारघाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यो व्यापारघाटाको अवस्था हेर्दा राष्ट्रले थेग्नै नसक्ने देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्ममा कुल वस्तु आयात भने २७ दशमलव पाँच प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो । चालू आवको पछिल्लो ११ महिनामा आयात उच्च हुँदा कुल वस्तु निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । प्रतिवेदनअनुसार चालू आवको ११ महिनामा निर्यातभन्दा आयात १६ खर्ब रुपैयाँले बढी देखिएको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१ दशमलव आठ प्रतिशत र ३० दशमलव एक प्रतिशतले बढेको देखिए पनि चीनतर्फको निर्यात २१ दशमलव चार प्रतिशतले प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतका वस्तुको निर्यात घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु तथा सेवा आयात २५ दशमलव सात प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेकोमा एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ११ महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब ८२ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको भएको थियो ।

रेमिट्यान्स तीन दशमलव आठ प्रतिशतले सुधार
मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स (विप्रेषण रकम) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा रेमिट्यान्स रकम तीन दशमलव आठ प्रतिशतले बढेर नौ खर्ब चार अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२ दशमलव छ प्रतिशतले बढेको थियो ।

No description available.

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने रेमिट्यान्स रकम एक दशमलव पाँच प्रतिशतले बढेर सात अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव पाँँच प्रतिशतले बढेकोे थियो । चालू आवको पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने चालू आवको पछिल्लो अवधिमा दुई सय आठ दशमलव तीन प्रतिशतले बढेर दुई लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२ दशमलव एक प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो ११ महिनामा खुद ट्रान्सफर तीन दशमलव छ प्रतिशतले बढेर एक हजार छ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

चालू खाता पाँच खर्ब ९५ अर्ब रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा मुलुकको चालू खाता पाँच खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भने चालू खाता दुई खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ । यसैगरी पुँजीगत ट्रान्सफर भने ३२ दशमलव नौ प्रतिशतले कमी आई नौ अर्ब ४९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी सात दशमलव एक प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा मुलुकको शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको पछिल्लो ११ महिनामा दुई अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खुद सेवा आय ९९ अर्ब ९३ करोड रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा खुद सेवा आय ९९ अर्ब ९३ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ८९ करोड रुपैंयाँले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय ८१ दशमलव तीन प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ अर्ब ६९ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ११ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय ७० दशमलव आठ प्रतिशतले वृद्धि भई ८३ अर्ब ३७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३० अब ७९ करोड रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ४५ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

विदेशी मुद्रा सञ्चिति १५ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्बमा सीमित
विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव नौ प्रतिशतले घटेर २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९ दशमलव छ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा छ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति झण्डै सात महिना दुई दिनको वस्तु आयात र छ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x