Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनियमावली संशोधनमा राय सुझाव नदिएकोमा स्टक ब्रोकरहरूको असन्तुष्टि

नियमावली संशोधनमा राय सुझाव नदिएकोमा स्टक ब्रोकरहरूको असन्तुष्टि

मस्यौदा पुनः नेपाल बोर्डमा नै फिर्ता ल्याई गहन अध्ययन गराई पक्षको राय सुझाव लिन आग्रह


काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरी संशोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा पेस गरेको व्यवसायीहरूको राय सुझाव नलिएकोमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालले असन्तुष्टि व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै उक्त नियमावली धितोपत्र दलाल व्यवसायीहरूसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर विगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपूर्व व्यवसायीहरूसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गर्दै उक्त नियमावलीमा संशोधन गर्न मस्यौदा गर्नुपूर्व व्यवसायीहरूसँग कुनै पनि राय सुझाव नलिई अस्वाभाविक हतारोमा रातारात ल्याइएको बताएको छ ।

यसबाहेक एकातिर हामीले हाम्रो अभिभावकको रूपमा रहेको नियामक कतै हराएको हो कि भन्ने आभास गरेका छौँ भने अर्कोतर्फ उक्त संशोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा हामी व्यवसायीहरूको हितमा छ भन्ने कुरामा हामी विश्वस्त हुन सकेका छैनौँ, संघले विज्ञप्तिमार्फत भनेको छ । हाल सञ्चालनमा रहेका व्यवसायीहरूबाट भौगोलिक रूपमा बजारको तथा सेवाको विस्तार हुन नसकेको भन्ने तथ्यहीन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसायीको संख्या वृद्धिको प्रावधानले दशकौँदेखि कायकम हाम्रो निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको पनि हामीले महसुस गरेका छौँ । यसबाट हामी व्यवसायी अत्यन्तै चिन्तित र दुःखी भएका छौँ’, संघका महाससचिव गुणनिधि भुषालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

‘विगत तीन दशकदेखि यस बजारको सारथिका रूपमा रहेका हामी व्यवसायीले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार सञ्चालकलाई पूर्णरूपमा सहयोग गर्दै आएकै हौँ । भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सही रातभरि कार्यालमै बसी राफसाफ कार्यलाई नियमित गरेकै थियौँ । अभौतिक धितोपत्रको मात्र कारोबार हुने व्यवस्था लागू गर्न लाखौँको संख्यामा रहेका प्रमाणपत्रहरूको विनाकुनै शुल्क अभौतिकीकरण गरेकौ हौँ । राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटजस्ता बजारका आधारभूत पूर्वाधारहरूको स्थापनामा नियामक र बजार सञ्चालक नै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति व्यहोरेरै भए पनि विगत तीन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता सेयर र बिक्री गरेको एक रुपैयाँ नगद गुमाउनुपर्ने अवस्थाको सिर्जना हुन नदिई बजारको विश्वसनियता कायम गरेकैँ हौँ’, विज्ञप्तिमा भनिएको छ ।

बजारका यतिविघ्न बाधाव्यवधानहरू सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका हामी व्यवसायीलाई आज काम गर्न केही सहज परिस्थितिको सिर्जना हुनेबित्तिकै कुनै अवसर नै नदिई कुनै परीक्षण नै नगरी अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट विस्थापित हुने वातावरणको सिर्जना गरिँदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पूर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएको छ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहित भएका छौँ, विज्ञप्तिमा भनिएको छ । हामी व्यवसायीले बजार तथा सेवाको विस्तारका लागि गरेका बहुसंख्यक अनुरोधहरूलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो विस्तारका लागि नियामकबाट आजसम्म कुनै पनि नीति निर्देशन जारी नभएको, व्यवसायीबाट के–कति कारणले विस्तार सम्भव नभएको भनी एउटा पनि अध्ययन नियामकले नगराएको सन्दर्भमा नियामकले नै व्यवसायीहरूमाथि झुटो आरोप लगाई अन्य कुनै पनि वित्तीय क्षेत्रका नियामकहरूले जोखिम हुने ठानी अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिई संख्या मात्र थप्न खोज्नु असल नियमनको सिद्धान्तविपरीतको कार्य रहेको हाम्रो ठहर गरेको जानकारी पनि संघले दिएको छ ।

सेवा विस्तार गर्न दशकौँदेखि विभिन्न सेवा थप्न माग गर्दै आएकोमा तीमध्ये एउटा मार्जिन कारोबारको मात्र कार्यविधि लागू भई हामी व्यवसयीहरूले तीन आर्थिक वर्षको नवीकरण शुल्क बुझाएर नवीकरण गर्दा पनि नियामककै अनिच्छाले गर्दा अगाडि बढाउन नसकिएको अवस्था रहेको छ भने बजारको विस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसार सबब्रोकर, आधिकारिक प्रतिनिधि र शाखारहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पूर्णरूपमा बेवास्ता गरिएको र एकदमै खर्चिलो माध्यमको रूपमा रहेको शाखा खोल्न पनि सीमित संख्यामा र त्यो पनि वर्षौँ लगाउने गरिएको हुँदा हामी व्यवसायीमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संशोधन प्रस्ताव नियामकको अक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपञ्चको रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपालजस्तो सानो अर्थतन्त्र भएको विकासशील देशमा विश्वका अति विकसित देशहरूको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यवसायीको पुँजी कयौँ गुणाले उच्च राख्न लागाउनु भनेको नियामकले सूक्ष्म अध्ययनविना नै हचुवाको भरमा अल्पदृष्टि राखी निर्णय गरेको कुरा प्रस्ट हुन्छ । नेपालमै पनि अन्य किसिमका धितोपत्र व्यवसायीहरूले गरिरहेका कार्य गर्न नै दलाल व्यसायीहरूले तिनै व्यवसायीहरूले कायम गर्नुपर्ने भन्दा पनि गुणात्मक रूपमा बढी पुँजी कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्वको हामी दलाल व्यवसायीहरूप्रति पूर्वाग्रह रहेको कुरा प्रस्ट हुन्छ । धितोपत्र दलाल व्यवसायको जोखिम व्यवस्थापनका लागि अपरिहार्य अंगको रूपमा रहेको निक्षेप सदस्य व्यवसाय पुँजीको ठूलो आवश्यकता खडा गरी हामी व्यवसायीहरूबाट खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिम नै नबुझेको कुरा पनि प्रस्टै पार्दछ, विज्ञप्तिमा भनिएको छ ।

तसर्थ, आधारहीन अध्ययनका आधारमा व्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संशोधन प्रस्तावले हाल सञ्चालनमा रहेका व्यवसायीहरूलाई व्यवसाय छोड्न बाध्य पार्ने, अन्य उत्पादनमूलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याई यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्नसक्ने र क्षमतावान् टिक्ने नाममा सीमित समूहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सिर्जना भई समग्र बजार नै असन्तुलित हुनजाने संघको भनाइ छ ।

यो अवस्थामा हाल अर्थमन्त्रालयमा विचाराधीन रहेको यस मस्यौदामा हामी व्यवसायीहरूको पनि राय सुझाव समेटिने गरी पुन छलफल चलाउन आवश्यक रहेकाले उक्त मस्यौदा पुनः नेपाल धितोपत्र बोर्डमा नै फिर्ता ल्याई गहन अध्ययन गराई तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारमा अघि बढ्न पनि संघले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x