Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकले नेपाललाई १० अर्ब सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपाललाई १० अर्ब सहुलियतपूर्ण ऋण दिने


काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि नेपाललाई आठ करोड अमेरिकी डलर ( करिब १० अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।

खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवद्र्धनमा मदत गर्न विश्व बैंक र नेपाल सरकारबीच बुधबार उक्त आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मरासिनीले यस आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मदत गर्ने बताए । खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाइ सेवाहरूको पहुँच न्यून हुनु, गरिबी उच्च हुनुका साथै यी प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् । यस आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको आपूर्तिलाई सुदृढ गर्न मदत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशील तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले जानकारी दिए ।

यस आयोजनाले उक्त दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाइ सेवाहरू दिगो र प्रभावकारीरूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मदत गर्नेछ । साथै यस आयोजनाले यस क्षेत्रको प्रादेशिक र संघीय सरकारका निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीहरूप्रति यस क्षेत्रको जवाफदेहितालाई पनि बलियो बनाउनेछ । यी कार्यक्रमका अतिरिक्त, यस आयोजनामा खानेपानी आपूर्ति र सरसफाइ पूर्वाधारहरूको निर्माण र पुनस्र्थापना गर्नुका साथै पानीको गुणस्तर नियमन गर्ने सुविधाहरू र अनुगमन प्रणालीहरूमा समेत लगानी गरिने जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x