Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीखेती विस्तार गर्दै बैतेश्वर गाउँपालिका

किबीखेती विस्तार गर्दै बैतेश्वर गाउँपालिका


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले किबीको खेती विस्तार तथा प्रवर्द्धन गरेर पालिकालाई पकेटक्षेत्र घोषणा गर्ने भएको छ । यसका लागि गाउँपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन समेत गरेको छ । किबीको खेती प्रवर्द्धन तथा विस्तारको लागि ‘टि–बार कार्यक्रम’ शीर्षकमा बजेट विनियोजन गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए ।

पछिल्लो समय बैतेश्वरमा किबीखेतीको विस्तार हुँदै गएको र धेरै किसानले व्यावसायिकरूपमै किबीखेती गर्न थालेको उनले बताए । बैतेश्वर गाउँपालिका वडा नम्बर एक, दुई र तीनका दर्जनौँ कृषकले व्यावसायिकरूपमा किबीखेती गरिरहेका छन् । त्यस्तै अन्य वडामा पनि यसको खेती फस्टाउन थालेको छ । थोरै लगानीमा सजिलोसँग खेती गरेर छोटो समयमै आम्दानी लिने हुँदा पछिल्लो समय दोलखामा किबीखेती गर्ने कृषक बढेका हुन् । गाउँपालिकामा यसअघि लगाइएको किबीबाट राम्रो उत्पादन हुन थालेपछि किबीको खेती बढेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले किबी प्रवर्द्धन र टि–बार अनुदानसँगै कृषक तालिमको लागि पनि दुई लाख बजेट छुट्याइएको छ । त्यस्तै कृषकलाई ९० प्रतिशत अनुदानमा सिल्पोलिङ प्लास्टिक टनेल वितरण गर्न १० लाख बजेट छुट्याइएको छ । त्यसैगरी रैथाने बाली संरक्षण गरेर खेती वृद्धि गर्न पाँच लाख अनुदान दिन बजेट विनियोजन गरेको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । यस्तै तरकारी मिनिकिट वितरण गर्न पनि पाँच लाख बजेट विनियोजन गरेको उपाध्यक्ष उप्रेतीले जानकारी दिइन् । साथै गोठखोर सुधार कार्यक्रमको लागि पाँच लाख अनुदान दिने भएको छ । पशुपन्छीको संरक्षण तथा सुरक्षाको लागि खोप कार्यक्रम गर्न पाँच लाख बजेट विनियोजन गरेको हो ।

पालिकाले कृषिलाई प्राथमिकता दिएर ६१ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाले कृषिसँगै शिक्षा क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहन अनुदान दिने भएको छ । एमबीबीएस डाक्टर उत्पादन तथा अध्ययनको लागि १५ लाख प्रोत्साहन अनुदान दिने भएको छ । त्यस्तै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिवाखाजा दिन १३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x