Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी


काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल एक हजार दुई सय ५२ मत खसेकोमा पौडेलले नौ सय ६४ मत ल्याएका हुन् ।

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरूको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् । यसअघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाडौंको असार १८ मा भएको आन्तरिक प्रतिस्पर्धामा जित हासिल गर्दै पौडेल डिएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।

न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेसागत मर्यादालाई स्थापित गराउँदै सामूहिक शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । पौडेलसँगै बारको सबै पदाधिकारी डीएलबाट नै निर्वाचित भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् । महिला सदस्यहरूमा उमादेवी प्रसाई र गिता श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भए । योसँगै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा डीएलएका तर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षसम्म रहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x