Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआठ अर्बको विश्व जनसंख्या

आठ अर्बको विश्व जनसंख्या


काठमाडौं । गत हप्ता विश्वलगायत नेपालमा जनसंख्या दिवस मनाइएको थियो । हाम्रा छिमेकी देशहरू भारत र चीनमा झण्डै तीन अर्ब मानिसहरू बसोबास गर्छन् । यसरी संसारको जनसंख्यालाई अवलोकन गर्ने हो भने आठ अर्ब नजिक पुगेको छ । हाल विश्वको जनसंख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । अबको चार महिनापछि विश्व जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसर्थ विश्व जनसंख्या दिवसका अवसरमा गत असार २६ गते संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसंख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्र संघले ११ जुलाइलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको थियो । यसै क्रममा हाल आएर हाम्रो देशमा पनि सोही वर्षदेखि जनसंख्या दिवस मनाइँदै आएको छ । यसरी छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ । तथापि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकोले नीति निर्माताहरूलाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वभाविकै हो ।

प्रत्येक वर्ष जुलाई ११ तारिकलाई विश्व जनसंख्या दिवस मनाइँदै आएको छ । विश्वमा देखा परेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । यसरी जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । जसले गर्दा प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्यधिक चाप हो । यसै कारणले होला सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो । यसर्थ विश्वको जनसंख्या झण्डै आठ अर्ब पुग्न लागेको सम्बन्धित क्षेत्रले जनाएको छ ।

यसरी विश्वको जनसंख्या वृद्धिको क्रमलाई अवलोकन गर्ने हो भने प्रत्येक २ सेकेन्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान छ । यसरी नै प्रतिदुई सेकेन्ड छ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा सात करोड ६० लाखभन्दा बढी मानिसहरू थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । विकसित मुलुकहरूमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसंख्या बसोबास गर्दछन् ।

यसैगरी विश्वको कुल प्रजननदर २ दशमलव ३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्र रहेको भए पनि अविकसित देशहरूमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा आठ अर्ब ३१ करोड र सन् २०५० मा आठ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जसले गर्दा जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्प विकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पङ्क्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने जनसंख्या वृद्धिदर अझै अतिउच्च नै छ । देशमा बाह्रौँ जनगणना लिने कार्य विसं २०७८ मा भयो । देशको पछिल्लो जनसंख्या अर्थात् ०७८ को जनगणनाअनुसार दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यसरी सरसर्ती हेर्ने हो भने दश वर्षको अवधिमा २६ लाख ९७ हजार नौ सय ७६ जनाले वृद्धि भएको जनाएको छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको देखिन्छ । जुन अधिल्लो जनगणनामा १ दशमलव ३५ प्रतिशत रहेको थियो । यसमा महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ अर्थात् कुल जनसङ्ख्याको ५१ दशमलव शून्य ४ प्रतिशत पुगेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ९६ प्रतिशतमा पुगेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको छ लाख नौ हजार आठ सय ५८ जना जनसंख्या बढी देखिन्छ । मूलतः मुलुकको जनसंख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ ।

विसं १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए पनि विसं २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । विसं २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको देखिएको छ । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि छ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुनजाने अनुमान छ ।

विसं २०५८ सालको जगगणनामा नेपालको कुल जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ रहेको अनुमान गरिएको थियो । त्यसरी नै २०६८ को जनगणनाअनुसार दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको छ । यसमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको थियो । यसमा महिलाको जनसंख्या एक करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या एक करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको थियो । यसलाई संख्यात्मकरूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै आठ लाख जनसंख्या बढी देखिन्छ । यसरी विसं २०६८ सालको जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत विन्दु घटेको हो ।

समग्रमा भन्नुपर्दा विश्व जनसंख्याको तथ्यांक हेर्दा सातदेखि आठ अर्बको जनसंख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन् । यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ भने चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ । विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४५ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा जनसंख्या छ । तेस्रो अमेरिकामा ३३ करोड जनसंख्या रहेको सम्बन्धित निकायले जनाएको छ । सन् २०२३ मा भारतले चीनलाई जनसंख्यामा उछिन्ने प्रक्षेपण छ । फलतः जनसंख्या वृद्वि, असन्तुलित बसाइँसराइ, लैंगिक असमानता, लैंगिक हिंसा, प्रजनन स्वास्थ्य समस्याजस्ता प्राकृतिक विपतले निम्ताउने समस्यालगायत विविध समस्या विद्यमान छन् ।

यसै मेसोमा यो वर्षको अन्त्यसम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्दै छ । यसलाई धेरैले बढ्दो जनसंख्यालाई समस्याका रूपमा व्याख्या गरे पनि यो समस्या मात्र नभई यो अवसर पनि हो । जसमा बढ्दो जनसंख्यालाई अवसरको रूपमा लिएर उचित व्यवस्थापन गर्न नसक्दा यसले बालिका, किशोरी, महिला र ज्येष्ठ नागरिकलगायत सीमान्तकृत वर्गका आम मानिसलाई ज्यादा समस्यामा पारिरहेको छ । अतः जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयासहरू सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौँ भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झण्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदैछ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजननदर कायमै रहनु हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

1
0
Would love your thoughts, please comment.x
()
x