Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगहरुको आय वृद्धिदरमा व्यापक गिरावट, उत्पादन क्षमतामा ह्रास

उद्योगहरुको आय वृद्धिदरमा व्यापक गिरावट, उत्पादन क्षमतामा ह्रास


काठमाडौं । नेपालका उद्योगहरुको आय वृद्धिदरमा व्यापक गिरावट आएको छ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकले उद्योगहरुको आय र उत्पादन क्षमता दुवैमा गिरावट आएको उल्लेख गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले सोमबार सार्वजनिक गरेको उक्त प्रतिवेदनमा चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ । प्रतिवेदनअनुसार दोस्रो त्रैमासिकको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ । यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको छ । दोस्रो त्रैमासिकमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो ।

अध्ययन (माघ, फागुन र चैत) अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालू पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रैमासिकमा चालू पुँजी ३४.४ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् ।

प्रतिवेदनले चालू आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकको तुलनामा चालू त्रैमासिकमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ । दोस्रो त्रैमासिकमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत रहेको थियो । यस अंकको औद्योगिक अवस्थिति प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको छ । मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा दिएको सुझाव समेत प्रतिवेदनमा समावेश छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री दिलेन्द्रप्रसाद बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए । साथै मन्त्री बडूले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रस्ट्याउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाइ आग्रह समेत गरे । निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलोपटक परिसंघले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको उनले बताए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासिकमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x