काठमाडौं, फागुन ११
होटल याक एण्ड यतिमा गिल्ट इन्टभेष्टमेन्ट प्रा.लि.ले सञ्चालन गरेको रोयल क्यासिनोका ५ सय ५१ जना मजदुरले पनि होटल अन्नपूर्णमा सञ्चालित अन्ना क्यासिनोका ९ सय २२ जना कामदारकै नियति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । गत बिहीबार प्रहरीले हस्तक्षेप गरेर सञ्चालन गर्न नदिएपछि रोयल क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन रोकिए पनि मजदुरले चाहिँ त्यही मेस चलाएर खाना खाने गरेका छन् । तर क्यासिनो बन्द भए पनि मजदुरलाई दिइनुपर्ने तलब भत्ता, सञ्चयकोषको रकम उपलब्ध गराइएको छैन । गिल्ट इन्भेष्टमेन्ट प्रालिले होटल याक एण्ड यतिसँग क्यासिनो सञ्चालन गर्न घर भाडामा लिएको अवधि यही फेब्रुअरीको गत ६ तारिखदेखि सकिएको हो । तर पनि कसैले हस्तक्षेप नगरेका कारण गत बिहीबारसम्म क्यासिनो चलिरहेको थियो ।
रोयल क्यासिनोमा स्थायी ३ सय ३९ जना र अस्थायी २ सय १२ जना गरी ५ सय ५१ जना मजदुर रहेका छन् । क्यासिनोले उनीहरुको तीन महिनादेखिको तलब दिएको छैन । उनीहरुले पाउनुपर्ने तलब मात्रै झण्डै ४ करोड ५० लाख रुपैयाँ रहेको छ । क्यासिनोका ३ सय ३९ जना स्थायी कर्मचारीको ७६ महिनादेखिको सञ्चयकोषको रकम जम्मा गरिदिएको छैन । सो रकम १० करोड रुपैयाँभन्दा बढी छ । उनीहरुले पाउने वान डे लिभ र अन्य विदाबापत पाउनुपर्ने रकम पनि ३० लाख रुपैयाँभन्दा बढी छ ।
२०७५ भदौमा सुरेन्द्रबहादुर सिंहले निकै चालखीपूर्वक सोही क्यासिनोमा कार्यरत सुपरभाइजर जयन्ति थापालाई २५ करोड चुक्ता पुँजी भएको गिल्ट इन्भेष्टमेन्ट प्रा.लि. बिक्री गरेका थिए । थापाले क्यासिनोमा स्रोत नखुलेको कालोधन लगानी गरेको उजुरी परेपछि त्यसमा सम्पत्ति शुद्धीकरण विभागले थापा माथि छानबिन गरिरहेको छ । लगानीको स्रोत देखाउन नसकेपछि उनले भारतीय नक्कली मुद्राको कारोबारमा परेका नेपाली मूलका अमेरिकी नागरिक सुनिल जंग रायमाझीलाई गत वैशाख १७ गते क्यासिनो सञ्चालन गर्न जिम्मा लगाएपछि त्यहाँ फर्किएकी छैनन् । तर सम्पत्ति शुद्धीकरण विभागमा चाहिँ पटक–पटक बयान दिन र तारिख लिन धाइरहेकी छिन् ।
सुरेन्द्र बहादुर सिंह र राजबहादुर सिंहले सञ्चालन गरेकै बेलादेखि रोयल क्यासिनोले करोडौं रुपैयाँ सरकारी राजस्व तिरेको छैन । १५ करोड रुपैयाँभन्दा बढी रकम कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयले होटल याक एण्ड यतिका मालिक राधेश्याम सर्राफको नाममा बक्यौता बाँधेर राखेको छ । पर्यटन विभागले गत माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रोयल्टी विवरण सम्बन्धमा पठाएको पत्रमा गिल्ट इन्भेष्टमेन्ट प्रालिले १९ करोड ३३ लाख ५८ हजार ७ सय ८९ रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको देखाइएको छ ।
यस हिसाबले पनि गिल्ट इन्भेष्टमेृन्ट प्रा.लि.ले ५० करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्नुपर्ने देखिएको छ र त्यसमा कामदारले तलबभत्ता सञ्चयकोष र विदा सुविधाबापत मात्रै १५ करोड रुपैयाँभन्दा बढी रकम पाउनुपर्ने देखिएको छ । तर क्यासिनो सञ्चालनको अनुमति सकिनु अघिदेखि नै सञ्चालक जयन्ती थापा क्यासिनोमा आउन छाडेकी छन् । होटल व्यवस्थापनले प्रहरी लगाएर क्यासिनो बन्द गराएर कालोधनका कारोबारी बाबा भनिने होटल मल्लमा क्यासिनो बेल्लिज चलाइरहेका ज्ञानेन्द्र श्रेष्ठलाई क्यासिनो सञ्चालन गर्न लगाउने तयारी गरिरहेको छ र ज्ञानेन्द्र श्रेष्ठको तर्फबाट रोयल क्यासिनोका मजदुर र प्रतिनिधहिरुसँग बलराम सापकोटाले मेस सञ्चालन गरेर बसेका मजदुरलाई ठाउँ छाडिदिन आग्रह गरेको थाहा भएको छ ।
करोडौं रुपैयाँ लिन बाँकी भएका मजदुरलाई उनले एक डेढ लाख रुपैयाँ लिएर विदा हुन वा नयाँ प्रक्रियामा काम गर्न आग्रह गरेको एक मजदुरले आर्थिक प्रतिनिधिलाई बताएको छ । सरकारी बक्यौता सरकारले चाहेमा जे जसरी पनि उठाउन सक्नेछ तर रोयल क्यासिनोका ५ सय ५१ जना कामदार मजदुरले चाहिँ काम गरेको समयको बाँकी रकम पनि नपाउने अवस्था सिर्जना हुँदै आएको छ । यस्तै हुँदा अन्ना क्यासिनोका ९ सय २२ जना मजदुरले लगभग ४२ करोड रुपैयाँ पाएका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया