Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक दर्जन आर्थिक विधेयक संसद्मा विचाराधीन

एक दर्जन आर्थिक विधेयक संसद्मा विचाराधीन

बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्रलगायतका विधेयकहरू तत्काल अघि बढाउन आग्रह


काठमाडौं । संसद्मा एक दर्जन आर्थिक विधेयकहरु विचाराधीन अवस्थामा रहेको देखिएको छ । विभिन्न किसिमका राजनीतिक आग्रह तथा पूर्वाग्रहका आधारमा लामो समयसम्म संसद् अवरुद्ध हुँदा यसको असर आर्थिक विधेयकहरुमा परेको हो ।

संसद्ले पूरा समय काम गर्न नपाउँदा अहिले संसद्मा बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, निकासी तथा पैठारीसहितका ११ वटा विधेयकहरु विचाराधीन अवस्थामा छन् । यसरी विचाराधीन अवस्थामा रहेको विधेयकहरुमा वि.सं. २०७६ भदौ २५ गते दर्ता भएको धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, वि.सं. २०७६ भदौ २५ गते नै दर्ता भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक, वि.सं. २०७५ फागुन २ गते दर्ता भएको सूचना प्रविधिसम्बन्धी बनेको विधेयक, वि.सं. २०७५ असार २७ गते दर्ता भएको बीमासम्बन्धी कानुन लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक रहेका छन् ।

यसैगरी वि.सं. २०७७ असार ४ गते दर्ता भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, वि.सं. २०७७ जेठ १९ गते दर्ता भएको सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न बनेको विधेयक, वि.सं. २०७७ फागुन २९ गते दर्ता भएको निकासी पैठारी कानुनलाई संशोधन गर्न तथा एकीकरण गर्न बनेको विधेयक, वि.सं. २०७६ फागुन २९ गते दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, वि.सं. २०७७ जेठ १ गते दर्ता भएको प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ र वि.सं. २०७७ जेठ ७ गते दर्ता भएको स्ट्यान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक रहेका छन् ।

यसरी लामो समयदेखि यी विधेयकहरु संसद्मा विचाराधीन अवस्थामा रहेपछि नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरु सम्बोधन हुन नसकेको बताएका थिए ।

Open photo

धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरुलाई संघीय निर्वाचनअघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु ।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापारघाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानाकर्षण गरे । संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरु करिब–करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरुसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाइ छ । सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

सिभिल सेभिङमा इच्छाराज प्रकरण : तामाङ पत्नी सिर्जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) लामो समयदेखि फरार रहेकी सिर्जना शाक्य (तामाङ)लाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड घोटालासँग सम्बन्धित प्रकरणका मुख्य अभियुक्त इच्छाराज तामाङ पत्नी सिर्जनालाई मंगलबार काठमाडौंको रामशाहपथबाट पक्राउ गरिएको हो ।

ठगीसम्बन्धी कसुर तथा संगठित अपराधमा फरार प्रतिवादी भएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महतोले बताए । काठमाडौं महानगरपालिका वडा नं. १३, सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठितरुपमा पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ १० पैसा ठगी गरेको ५७ वर्षीय सिर्जना शाक्य (तामाङ)लाई पक्राउ गरिएको प्रवक्ता महतोको भनाइ छ । प्रवक्ता महतोका अनुसार उक्त सहकारीमा सिर्जनाको हैसियत लेखासमिति सदस्य रहेको छ ।

Open photo

सोही प्रकरणमाा विगत तीन वर्षदेखि आफूले बचत गरेको रकमको सावाँ तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाई एक हजार पाँच सय ३० जना पीडितहरुले सीआईबीमा ठगी एवं संगठित अपराध कसुरमा जाहेरी दरखास्त दिएका थिए । सोही सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई वि.सं. २०७८ मंसिर १७ गते उक्त संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा थुनामा रहेको प्रवक्ता महतोको भनाइ छ ।

सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वि.सं. २०७८ पुस २७ गते पक्राउ पुर्जी जारी भई सुरुदेखि नै फरार रहेकी प्रतिवादी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी इच्छाराज तामाङकी पत्नी सिर्जनालाई मंगलबार रामशाहपथ, काठमाडौंबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x