Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफोहोरपानी प्रशोधन केन्द्र छिटो निर्माण गर्न खानेपानीमन्त्रीको निर्देशन

फोहोरपानी प्रशोधन केन्द्र छिटो निर्माण गर्न खानेपानीमन्त्रीको निर्देशन


काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले ललितपुरको धोवीघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको निर्माणकार्य जतिसक्दो छिटो गर्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) द्वारा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरिक्षण गर्दै उनले निर्माणकार्य जतिसक्दो छिटो सक्न निर्देशन दिएका हुन् । यस्तै उनले निर्माणकार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरूका बारेमा जानकारी समेत लिएका थिए । धोवीघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्र (डब्लूडब्लूडब्लूटीपी–०३) को निर्माणकार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्र (डब्लूडब्लूटीपी–०२)को निर्माणमा भने समस्या देखिएको छ ।

मन्त्री चौधरीले निर्माणसम्पन्न हुने चरणमा रहेको प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माणकार्य के–कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निक्र्यौल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका थिए ।

साथै उनले कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न हुनुपर्नेमा जोड दिए । आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्पसहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय बासिन्दासँग गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्न पनि उनले निर्देशन दिए । कार्यक्रममा पीआईडी आयोजना निर्देशक राजेन्द्र सापकोटाले निर्माणसम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्रको निर्माणसम्पन्न हुनासाथ सञ्चालनमा ल्याउनका लागि दुवै प्रशोधन केन्द्रका साझा संरचनाका रूपमा रहेको डब्लूडब्लूटीपी–०२ अन्तर्गतको इन्लेट स्ट्रकचरको निर्माणकार्य सम्पन्न गर्न पहल भइरहेको जानकारी दिए । यस्तै ललितपुर महानगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्काले फोहोरपानी प्रशोधन केन्द्र निर्माणका क्रममा आयोजनाबाट गरिएका सडक, ढल तथा खानेपानी सुविधा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न आग्रह गर्दै आयोजनामा आइपर्ने समस्या समाधानमा वडाको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाले काठमाडौं उपत्यकाका नगरपालिकाहरूमा फोहोरपानी व्यवस्थावनको अवस्था, विद्यमान समस्या र समाधानका सम्भावित उपाय तथा पीआईडीका आयोजना प्रबन्धक राजेश कुशवाह र डोस्वा इन्जिनियरिङ कलेजका कन्सल्ट्यान्ट राजनारायण गुप्ताले फोहोरपानी प्रशोधन केन्द्रहरूका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र आयोजना कार्यान्वयन निर्देशनालयका पदाधिकारीहरूलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x