Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचारजन्य कसुरमा झण्डै तीन अर्ब बिगो माग

भ्रष्टाचारजन्य कसुरमा झण्डै तीन अर्ब बिगो माग


काठमाडौं । राजनीतिक अस्थिरताले सुशासनमा असर पार्छ । मुलुकमा देखापरेको विविध राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचारजन्य कसूरमा वृद्धि गराएको पाइन्छ । जसले गर्दा एक आर्थिक वर्षमा नै भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा झण्डै तीन अर्ब रुपैयाँ सरकारी कार्यालयले बिगो माग गरेको छ ।

गत आर्थिक वर्षमा छ सय ३९ जना भ्रष्टाचारजन्य कसुर गरेबापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्ब ७८ करोड ४३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । उसले बिगो माग दाबी गर्दै छ सय २९ जनाविरुद्ध एक सय ३१ वटा मुद्दा दायर गरिएको हो । जसमध्ये प्रतिवादीहरुमा राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी तीन सय आठ जना, बिचौलिया/मतियारलगायत अन्य एक सय ७२ जना, निर्वाचित/मनोनीत पदाधिकारीहरुको एक सय ५५ जना र भूतपूर्व मन्त्री एक जना रहेका अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । जसमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानीको ३५ वटा, गैरकानुनी लाभहानिको ३४ वटा, घुसको ३२ वटा, विविध १२ वटा, गैरकानुनी सम्पत्ति आर्जनको सातवटा, नक्कली शैक्षिक प्रमाण–पत्रको छ वटा र राजस्व हिनामिनाको पाँच वटा मुद्दा दायर गरिएको हो ।

आयोगले भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्न अझै पनि उचित कदम चाल्न नसकेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । कसुरको आधारमा भन्दा पनि पहुँचको आधारमा भ्रष्टाचारीलाई पक्राउ गर्ने परिपाटीका कारण धेरै रकम भ्रष्टाचार गर्ने तथा नीतिगत भ्रष्टाचार तथा आर्थिक अनियमितता गर्ने व्यक्तिहरुलाई अख्तियारले नियन्त्रणमा लिन नसकेको उनीहरुको भनाइ छ । सरकारको नेतृत्व गर्ने तथा मुलुक सञ्चालन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुको साथ पाई आर्थिक अनियमितता गर्ने व्यक्तिहरु प्रशस्त भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याउनसकेको पाइँदैन ।

यसैबीच गत आर्थिक वर्षमा अदालतबाट प्राप्त एक सय ४८ वटा (३१.१९ प्रतिशत) मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ । गत आर्थिक वर्षमा अदालतबाट प्राप्त फैसला भएका मुद्दाका संख्या एक सय १३ जना रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ (७१.६८ प्रतिशत) वटा रहेको थियो ।

सार्वजनिक सम्पत्तिको हानि नोक्सानी, गैरकानुनी लाभहानिका साथै आर्थिक कारोबार/घुस लेनदेन गर्दा रंगेहात समेत पक्राउ गरेको छ । गत आर्थिक वर्षमा अख्तियारले ३८ जनालाई रंगेहात पक्राउ गरेको थियो । जसमा राष्ट्रसेवक कर्मचारी २६ जना र क्रमशः छ/छ जना बिचौलिया/मतियार र निर्वाचित/मनोनीत पदाधिकारी छन् । समीक्षा अवधिमा कुल रंगेहात कारबाहीको संख्या २५ वटा रहेको थियो ।

कारबाही अगाडि बढाउने क्रममा मुलुकका विभिन्न स्थानमा रहेका आयोग र आयोग मातहतका कार्यालयमा आएको उजुरीलाई समेत हेर्ने गरेको पाइन्छ । गत आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट १६ हजार एक सय ४८ तथा अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका आठ हजार ९३ वटा गरी कुल २४ हजार दुई सय ४१ वटा उजुरीहरु प्राप्त भएको थियो । जसमध्ये १७ हजार ९८ वटा उजुरी फछर्यौट गरिएका छन्, जुन कुल उजुरीको संख्याको करिब ७० दशमलव ५३ प्रतिशत हो । आयोगले पत्रपत्रिका, लिखित निवेदन, इमेल, सामाजिक सञ्जाल, मोबाइल, टेलिफोनमार्फत उजुरी लिने गरेको छ ।

सोही क्रममा गत आर्थिक वषमा लिखित निवेदनमार्फत चार हजार चार सय ९५ वटा, इमलेमार्फत दुई हजार सात सय ५७ वटा, अन्य स्रोतबाट दुई हजार सात सय १७ वटा, हुलाक सेवाबाट दुई हजार सात सय ६० वटा, आयोगको वेबसाइटबाट दुई हजार एक सय ६५ वटा, टेलिफोनबाट सात सय ५० वटा, पत्रपत्रिकाबाट दुई सय ९० वटा, फेसबुकबाट ९३ वटा, भाइबरबाट १५ वटा र मोबाइल एसएमएसबाट चारवटा गरी कुल १६ हजार एक सय ४८ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेको छ ।

मुलुकमा सुशासन कायम गर्ने क्रममा उजुरी लिनेको साथै आयोगले स्टिङ अप्रेसन समेत सञ्चालन गरेको थियो । स्टिङ अप्रेसन विवादित बन्दा बन्द गराइएको छ । यसैबीच आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ अनुरुप मुलुकमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्ने काम गर्दै आएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x