Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना महामारी सतर्क रहन सन्देश

कोरोना महामारी सतर्क रहन सन्देश


काठमाडौं । पछिल्लो समय देशमा कोरोना महामारीको प्रकोप बढ्न थालेको छ । अप्रत्यासितरूपले संक्रमण फैलन थालेपछि जनमानस आतङ्कित हुनथालेका देखिएको छ । संक्रमणका कारण दुई दिनमा दुई जनाको ज्यान गइसकेको छ भने उपचारमा आउनेहरूको संख्या पनि बढ्दो छ । बितेको दुई÷तीन महिनामा कोरोनाबाट मुत्युु हुनेको संख्या शून्यमा थियो र संक्रमणको दर पनि तीनबाट दुई र दुईबाट एक अंकमा झरेको थियो । यसै कारण होला सरकारले पनि सतर्कता अपनाउन गर्नेगरेको आह्वान रोकियो भने नागरिकले पनि कोरोना महामारीबाट झेल्नुपरेको पीडा र व्यहोर्नु परेको क्षति बिर्सिए । यद्यपि यस क्रममा छिमेकी देश भारतमा भने यस्तो प्रकोप बढ्दै गहिरहेको थियो । नेपाल त्यस्तो देश हो, जहाँ दुई जनाको मृत्यु हुँदा देशव्यापी लकडाउन भएको थियो । तर पछिल्लो समय बेवास्ता कतिसम्म देखियो भने सुरक्षाका लागि अनिवार्य मानिएको मास्क समेत त्यागियो ।

सतर्कताको दृष्टिले पछिल्लो समय पनि अवस्था त्यस्तै छ । यता कोरोना भने घडीपलाका हिसाबले बढिरहेको छ । मृत्युको घटना पनि यही क्रममा भएको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा उपचार गर्दागर्दै दुई जनाले ज्यान गुमाएका हुन् । यो भनेको खतराको संकेत पनि हो । पछिल्लो समय अस्पतालपरिसरमा पनि सतर्कताको आवश्यक मात्रा छाडिएको थियो । विज्ञहरूका अनुसार यतिबेला नेपालमा पनि कोरोनाको चौथो लहर प्रवेश गरेको मानिएको छ । बितेका केही दिनदेखि यस्तो संख्या निरन्तर बढ्दो क्रममा छ ।

मन्त्रालयका अनुसार पछिल्लो दिन पीसीआर र एन्टिजेन गरी चार हजार छ सय ५१ नमूना परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भयो । यो भनेका ९ दशमलव ८२ प्रतिशत हो । संक्रमितको संख्या भन्ने हो भने एक हजार सात सय ७६ पुगेको अवस्था हो । यसको भोलिपल्ट मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री संक्रमित भएको समाचार आयो । यसको अघिल्लो दिन तीन हजार ४१ कुल परीक्षणमा एक सय ३५ जना अर्थात् ४ दशमलव ४३ प्रतिशतमा संक्रमण पुष्टि भएकोे थियो । भोलिपल्टै यो संख्यामा दोब्बरले वृद्धि भयो । विवरणमा आएअनुसार असार २८ संक्रमणदर ५ दशमलव ६६ रहेकामा साउन २ गते यो दर बढेर ९ दशमलव ८२ पुग्यो । त्यसपछिका दिनमा पनि यस्तो वृद्धिदर निरन्तर कायम छ ।

यसको अर्को आपत्तिको वा सतर्क रहनुपर्ने विषय हो, यो संक्रमण निरन्तर घनाबस्तीतर्फ फैलनु । काठमाडौं उपत्यका त्यसको उदाहरण बन्दै छ । सक्रिय संक्रमितको संख्या अघिल्लो दिन काठामाडौंमा नौ सय ९२ थियो भने पछिल्लो दिन एक हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना गरी सक्रिय संक्रमितको संख्या एक हजार एक सय ३३ पुगेको विवरणले देखाउँछ । यही क्रममा आईसीयू र भेन्टिलेटरको प्रयोग पनि हुन थालेको छ, जो विगतमा शून्यजस्तै थियो । यसले खोज्ने भनेको सतर्कता नै हो । यो प्रारम्भिक सन्देशलाई आत्मसात् गरियो भने जोगिन सकिन्छ । एउटा मास्क मात्रै लगाइयो र स्यानिटाइजरको प्रयोग भयो भने पनि प्रकोपले प्रवेश नपाउन सक्तछ । सतर्क कति भइन्छ भन्नेचाहिँ व्यक्तिमा भर पर्ने कुरा हो । संक्रमित हुने कि सतर्क रहेर जोगिने भन्ने छनोट आफैँ गरौँ । कोरोना महामारीले भने सतर्क रहन सन्देश दिएको छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x