ट्रम्पले भारतमा ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने
अहमदाबाद, फागुन ११
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएको छ । उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अवलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ ।
राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् । ‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु’, ७३ वर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन् । ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरेका थिए । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका छन् ।
भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाइँ जारेड कुश्नर रहेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नेछन् । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लागेका हुन् । सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रंगशालाको उद्घाटन गर्नेछन् । मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरि ७ सय मिटर लामो पर्खाल बनाइएको छ ।
खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा ‘नमस्ते ट्रम्प’ कार्यक्रमको पनि आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरेका थिए । नमस्ते ट्रम्प कार्यक्रमपछि उनी श्रीमतीसहित ताज महल अवलोकन गर्न जाने बताइएको छ । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ । भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्नेछन् ।
ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदै छ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदै छ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताएका छन् ।
उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनी आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया