Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतरकारीको बढ्दो आयात कम गर्दैै हरियाली प्रवर्द्धन गर्ने योजना

तरकारीको बढ्दो आयात कम गर्दैै हरियाली प्रवर्द्धन गर्ने योजना


काठमाडौं । तरकारीको बढ्दो आयात कम गर्दै हरियाली प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिका वडा नं ४ ले कौसीखेतीलाई प्रवर्द्धन गर्ने भएको छ । ‘वडामा खाली जमिन कम रहेको छ, सोही अर्थमा सहरी सौन्दर्यलाई कायम राख्दै हरियाली प्रवर्द्धन गर्न र बजारको तरकारीको बढ्दो आयातलाई कम गर्नको लागि कौसीखेतीलाई प्रवर्द्धन गर्ने नीति नीति लिएका हौँ’, वडा अध्यक्ष दिनेश महर्जनले भने ।

स्थानीय तहको चुनावमा कामपाभरि विपक्षीभन्दा दुई हजार तीन सय १५ मत बढी अर्थात् कुल चार हजार छ सय छ मत ल्याएर वडा अध्यक्ष जितेका महर्जन आफ्नो जितको कारण सिंगो वडावासी खुसी भएको बताउँछन् । ‘भर्खर बजेट पास भयो, त्यही भएर पनि अहिले हामी विकासनिर्माणभन्दा पनि स्थानीय क्षेत्रको सरसफाइ, टोलवासीलाई सभ्यता सिकाउने, बोटबिरुवा रोप्ने, ग्रीन बेल्ट बनाउने काममा लागिरहेका छौँ । आफ्नो वडालाई राम्रो, सुन्दर, हराभरा र सफा बनाउन सिंगो वडावासी वडासँग सहकार्य गरेर अगाडि बढिरहनुभएको छ’, उनी भन्छन् । यस वर्षको लागि वडाको मुख्य योजनामा वडाका विभिन्न टर्निङहरूमा मिरर राख्ने, हरियाली क्षेत्रलाई विस्तार र संरक्षण गर्ने, स्वास्थ सचेतना वृद्धि गर्ने, युवाहरूको दक्षता अभिवृद्धिको लागि उद्योग व्यवसायसम्बन्धी सचेतना र आवश्यकताअनुसार तालिम परामर्श उपलब्ध गराउने, युवाहरूलाई स्वरोजगार बनाई सिर्जनात्मक काममा लगाउने रहेको वडा अध्यक्ष महर्जनको भनाइ छ । समुदायभित्र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन पूजा गर्ने धुप, केक, पोते बनाउने तालिमहरू दिने गरिएको छ ।

‘अघिल्लो वर्ष सार्वजनिक जग्गा निकालेर पार्क बनायौँ, अझै पनि वडामा केही सार्वजनिक जग्गाहरू रहेका छन्, ती जग्गाहरू खोजेर यस पटक वडावासीको स्वास्थको लागि खेलमैदान बनाउँछौँ । वडाभित्र चारवटा सामुदायिक विद्यालय छन्, ती विद्यालयको शैक्षिक, गुणस्तर, क्षमता र पूर्वाधार विस्तार गर्छौँ’, उनी भन्छन् ।

वडाको लागि पहिला तीन करोड ५० लाख रूपैयाँ बजेट छट्याइएको थियो, त्यसपछिको वर्षमा पाँच करोड रूपैयाँ बजेट छुट्याइयो, चालू आर्थिक वर्षको लागि १० करोड रूपैयाँ बजेट छुट्याइएको छ । कामपामा सबैभन्दा बढी कर उठाउनेमा ४ नं वडा पनि पर्छ । गत वर्ष हामीलाई १९ करोड रूपैयाँ कर उठाउने टार्गेट दिएको थियो । हामीले टार्गेटभन्दा बढी अर्थात् २० करोड रूपैयाँ कर उठायौँ’, उनी भन्छन् ।

यो वर्ष वडाको विकाससँगै वडालाई सभ्य, सुरक्षित, शान्त र हरियालीयुक्त बनाउने काम गर्ने आफ्नो योजना रहेको महर्जन बताउँछन् । यस क्षेत्रमा केही सडककुकुरहरू पनि छन्, सडककुकुरकै कारण दुर्घटना पनि हुन सक्छ । यी सडक कुकुरहरूलाई व्यवस्थित गर्न सडक चौपायहरूसँग सम्बन्धित विभिन्न संस्थाहरूसँग समन्वय र सहकार्य गरी कुकुरहरूलाई बन्ध्याकरण गर्ने योजना रहेको उनी बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x