Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा क्षेत्र भ्रमण गर्नेको पर्यटकको संख्या ८३ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र भ्रमण गर्नेको पर्यटकको संख्या ८३ प्रतिशतले बढ्यो


सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३.६२ ले पर्यटक आवगमन बढेको हो । निकुञ्जको तथ्यांकअनुसार आ.व. ०७७/०७८ मा चार हजार तीन सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/०७९ मा २६ हजार चार सय ७४ जनाले भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले २२ हजार एक सय ३९ जनाले बढी हो । जसमा २१ हजार एक सय ९८ जना विदेशी र पाँच हजार दुई सय ७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए । खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कात्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

वि.सं. २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ ।

निकुञ्जको राजस्व संकलन ७४ प्रतिशतले वृद्धि
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुको राजस्व संकलनमा ७४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ७४.४३ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ०७७/०७८ मा एक करोड २१ लाख राजस्व संकलन गरेको निकुञ्जले ०७८/०७९ मा चार करोड ७३ लाख २८ हजार नौ सय ९९.१४ रुपैयाँ संकलन गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए । उनका अनुसार ०७७/०७८ मा कोभिडका कारण सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलन न्यून भएको थियो । तर ०७८/०७९ मा पर्यटन गतिविधि लयमा फर्किएकाले राजस्व संकलनमा वृद्धि भएको हो ।

निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टोर उडान तथा अवतरणबापत शुल्क लिने गरेका छन् । तेस्रो मुलुकका विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार, सार्क मुलुकका पर्यटकबाट एक हजार पाँच सय, नेपाली पर्यटकबाट एक सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ । त्यसैगरी तेस्रो मुलुकको विदेशी पर्यटकबाट प्रतिक्याम्प एक हजार पाँच सय, सार्क मुलुकका पर्यटकबाट एक हजार र नेपाली पर्यटकबाट आठ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक तीन हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x