Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंक १३औँ वर्षमा प्रवेश, वित्तीय सूचकहरूमा उत्साहमूलक उपलब्धि

मेगा बैंक १३औँ वर्षमा प्रवेश, वित्तीय सूचकहरूमा उत्साहमूलक उपलब्धि


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘आजभन्दा ठीक तेह्र वर्षअगाडि १२ सय १९ जना संस्थापक सेयरधनीहरूको लगानीमा १४ जना संस्थापकहरू र ४ जनाको रणनीतिक समूहको अथक मिहिनेत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । जनताको घरदैलोमा बैंकको सेवा पु-याई आम मानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर परिचालित भएका हामीले तत्कालीन अवस्थामा सबैभन्दा बढी चुक्ता पुँजी दुई सय ३३ करोड भएको बैंक स्थापना गरेका थियौँ ।

लगानीकर्ताको विश्वास जित्दै सानो–सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो’, अध्यक्ष शाहले भने, ‘उत्पादनमूलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रवद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । जुन आजको समय सन्दर्भमा सत्य प्रमाणित हुँदै गएका छन् । बैंकको संरचनालाई विकेन्द्रीत गर्दै क्षेत्रीय र जिल्ला–जिल्लामा विस्तार गर्न सकेमात्र आम जनताको बैंक समक्ष पहुँच स्थापित हुन्छ भन्ने हाम्रो अभियानले संघीयताको कार्यान्वयन पछाडि नेपाल राष्ट्र बैंकले सो विषयलाई मौद्रिक नीति र निर्देशन जारी गरेपश्चात् सार्थकता पाएको हो ।’

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए । उनले भने, ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरूमा डिफिड–सक्षम, यूएसएड–निट, हेल्भेटास, आईओएमसँग सम्बन्धित क्षेत्रहरूमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तीकरण महत्वपूर्ण भूमिका खेलेको छ । देशले भोगेका प्राकृतिक विपत्ति तथा कोरोना जस्ता महामारीका कारण राष्ट्र तथा बैंक वित्तीय संस्थाहरूले भोगेको संकटको समयमा समेत लगानीकर्तालाई सन्तुलित तथा न्यायोचित प्रतिफल दिन सक्षम हुन हामीले लिएका सही नीति तथा बजेटको कार्यान्वयनको परिणाम हो ।’

विगतमा विभिन्न बैंकसँग मर्जर र एक्विजिसनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरूमा विचलन नआउनेमा विश्वस्त रहेको बताए । ‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरूसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौँ भने हाम्रा मान्यताहरूलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदि जस्ता कुराहरूले गर्दा ३७ वर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भइ सैद्दान्तिक सहमति प्राप्त भइसकेको व्यहोरा यहाँहरूसमक्ष निवेदन गर्दै हामीले स्थापित गरेका मान्यताहरूमा विचलन आउने छैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’, अध्यक्ष शाहले भने ।

मेगा बैंककी कायममुकायम सीईओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताए । ‘संस्थापकहरूको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वाशिलो र अग्रणी बैंकको रूपमा स्थापित भएको छ । बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको छ । स्थापनाको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरिरहँदा संस्थापकज्यूहरू सँगसँगै यस बैंकका लागि कर्मचारीवर्ग, ग्राहकवर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरूमा यो बैंकको अवस्था उत्साहमुलक देखिएको छ’, उनले भनिन् ।

Open photo

कामु सीईओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताए । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उनले भनिन् । कामु सीईओ श्रेष्ठले भने, ‘शिक्षामा बालिकाहरूको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न हाम्रो बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ । यो छात्रवृत्तिले शाखा सञ्चालित पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो ।’

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले सातौँ स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका दुई सय आठवटा शाखा सञ्जाल, एक सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्सन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

समता अस्पताललाई पाँच लाख सहयोग : मेगा बैंक नेपाल लिमिटेडले १२औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मदत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x