Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई सय ४३ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा

दुई सय ४३ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा


काठमाडौं । हालसम्म दुई सय ४३ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपछि २०७९ जेठ मसान्तसम्ममा कुुल दुई सय ४३ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ७७ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६६ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने यस अवधिमा एक सय २७ वटा कायम भएको छ । सो अनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले भने सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।

Open photo

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार चार सय ९२ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार नौ सय ९४, विकास बैंकहरुको एक हजार एक सय १६, फाइनान्स कम्पनीहरुको दुई सय ६४ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय १८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या १० हजार छ सय ८३ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ को जेठ मसान्तसम्ममा प्रदेश १मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । मधेशमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ ।

कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x