Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी तथा व्यवसायीको बौद्धिक सम्पत्तिप्रति रुचि बढ्दै

उद्योगी तथा व्यवसायीको बौद्धिक सम्पत्तिप्रति रुचि बढ्दै

५६ हजार बढी ट्रेडमार्क दर्ता


काठमाडौं । बौद्धिक सम्पत्ति मानिने प्याटेन्ट, डिजाइन र ट्रेडमार्कप्रति नेपाली उद्योगी तथा व्यवसायीहरुको अभिरुचि बढ्दै गएको छ । प्याटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको संख्यामा वृद्धि भएसँगै उद्योगी तथा व्यवसायीहरुको त्यसतर्फ आकर्षण बढेको उद्योग विभागका अधिकारीहरुले बताएका छन् । यसैबीच हालसम्म ५६ हजारभन्दा बढी प्याटेन्ट, डिजाइन र ट्रेडमार्क विभागमा दर्ता भएका छन् । जसमा ५६ हजार २७ वटा ट्रेडमार्क, दुई सय ८८ वटा डिजाइन र ८० वटा प्याटेन्ट दर्ता भएका छन् । हरेक वर्षजसो प्याटेन्ट, डिजाइन र ट्रेडमार्कको दर्ता संख्या वृद्धि भएको पाइन्छ । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार चार सय तीनवटा ट्रेडमार्क, ५६ वटा डिजाइन र तीनवटा प्याटेन्ट दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार नौ सय ७५ वटा ट्रेडमार्क, ३७ वटा डिजाइन र एउटा प्याटेन्ट दर्ता भएको छ ।

प्याटेन्ट, डिजाइन र ट्रेडमार्कको दर्ता बढेसँगै विश्वबजारमा नेपाली उत्पादनहरु परिचित बनाउन सहयोग पुग्नेछ । प्याटेन्ट, डिजाइन र ट्रेडमार्कलाई बौद्धिक सम्पत्तिको रुपमा विश्वबजारले हेरेको भए पनि नेपाली उत्पादनकर्ताले भने त्यसलाई अनुसरण गर्नसकेका थिएनन् । यसले नक्कल गर्ने प्रवृत्ति रहेको पाइन्छ जसले गर्दा आफ्नो उत्पादनको पहिचान नै नष्ट हुने कार्य नेपाली उद्योगी तथा व्यवसायीले गर्दै आएका विभागका अधिकारीहरु बताउँछन् । बौद्धिक सम्पत्तिले उत्पादनकर्ताको उत्पादनको पहिचान बनाउने हुँदा यसको प्रयोग आवश्यक रहेको छ ।

यसैबीच नेपाली उत्पादनमा सबैभन्दा बढी ट्रेडमार्क नक्कल गर्ने प्रवृत्ति रहेको छ । जसले गर्दा मासिक रुपमा विभागसमक्ष दजनौँ उजुरीहरु पर्ने गरेको छ । एक आर्थिक वर्षमा मात्रै एक सय ५० भन्दा बढी उजुरी परेको पाइन्छ । नेपालले औद्योगिक बौद्धिक सम्पत्तिलाई भने वि.सं. १९९४ देखि मान्यता दिँदै आए पनि त्यसको नक्कल तथा चोरी गर्ने प्रवृत्ति भने रोकिन सकेको छैन ।

यस्तै, उत्पादककर्ता (कलकारखाना तथा औद्योगिक प्रतिष्ठान) ले आफनो उत्पादित वस्तुको विषयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यका साथ तयार गरेको ट्रेडमार्क चिह्नसहित विभागमा निवदेन दिनुपर्छ । निवेदन दिएपश्चात् उद्योग विभागका दुई अधिकारीहरुले त्यसको प्रारम्भिक परीक्षणदेखि लिएर सारभूत परीक्षण गर्छन् । प्रारम्भिक परीक्षणका क्रममा उद्योग दर्ता, प्यान दर्ता, कम्पनीका सञ्चालक समितिहरुको निर्णय लगायत हेरिन्छ भने सारभूत परीक्षणको क्रममा नाम, चिह्न, बनोट तथा सो ट्रेडमार्कको लागि आवेदन परेको छ/छैन वा स्वीकृति दिएको छ/छैन लगायतको विषय हेरिन्छ ।

ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि बोधार्थका लागि विभागबाट मन्त्रालय, उद्योग वाणिज्य महासंघ, व्यापार संघ, आन्तरिक राजस्वमा पठाइने प्रचलन छ । ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि सबैको जानकरीको लागि विभागले वेबसाइटमा समेत राख्ने गरेको छ । यसरी विभिन्न निकायमा जानकारी गराई तथा वेबसाइटमा राखेको ९० दिनभित्र दाबी विरोध नआएमा निवेदकले ट्रेडमार्क चिह्न प्राप्त गर्ने प्रावधान रहेको उनीहरुको भनाइ छ ।

नेपालले २०६३ सालमा विश्व व्यपार संगठन (डब्लूटीओ)को सदस्य लिएसँगै ट्रेडमार्क, पेटन्ट, डिजाइनलाई लिएर औद्योगिक प्रतिष्ठानले चासो बढाएका हुन् । २०२२ मा आएको प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन संशोधन भई प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन २०६४ जारी गरिएको छ । जसले बौद्धिक सम्पत्ति संरक्षणको लागि सहज बनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x