Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणले अतिक्रमित जग्गाको पुर्जा नै बनाउन सकेन, महसुल बक्यौता ३६ अर्ब नाघ्यो

प्राधिकरणले अतिक्रमित जग्गाको पुर्जा नै बनाउन सकेन, महसुल बक्यौता ३६ अर्ब नाघ्यो


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो जग्गा संरक्षण गर्न कुनै ठोस कदम चालेको छैन भने महसुल बक्यौता पनि वर्षेनी बढ्दै गएको देखिएको छ । देशका कयौँ ठाउँमा अतिक्रमित जग्गाको छानबिन गरेको छैन भने लेखांकन गरेको एक हजार आठ सय ८० रोपनी जग्गाको लालपुर्जा नै लिनसकेको छैन । यसले प्राधिकरणको नेतृत्व कमजोर रहेको प्रस्ट पारेको छ ।

अझै पनि प्राधिकरणको एक हजार चार सय ७४ रोपनी जग्गा अतिक्रमण भएको छ । ती अतिक्रमित जमिनलगायत सम्पत्तिको छानबिन गरी एकीन गरेको छैन भने निर्माणकार्य सम्पन्न भइसकेको दुई अर्ब २६ करोड सम्पत्तिको पुँजीकृत गरेको छैन । यस्तै, प्राधिकरणको सम्पत्तिको विस्तृत विवरण रहेको सफ्टवेयरले देखाएको रकम तथा वित्तीय विवरणमा उल्लेख भएको रकमबीच एक अर्ब रुपैयाँ फरक देखिएको छ । यसले प्राधिकरणले आफ्नो सम्पत्तिको एकीन गर्न नसकेको प्रस्ट भएको महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले किटान गरेको छ ।

महालेखाका अनुसार वर्षान्तमा जम्मा निर्माणाधीन सम्पत्ति एक खर्ब ४० अर्ब ४८ करोड रुपैयाँमध्ये १७ करोड ऋणात्मक मौज्दात रहेको छ । यसले प्राधिकरणको ह्रास खर्च समेत यथार्थ नरहेको महालेखाले ठहर गरेको छ । महालेखाको ५९औँ वार्षिक प्रतिवेदनले मात्र होइन विगतका वार्षिक प्रतिवेदनमा पनि प्राधिकरणको हिसाबकिताब गोलमाल रहेको भन्दै त्यसलाई मिलाउन पटक–पटक सुझाव दिने गरेको छ । तर, प्राधिकरणको नेतृत्वले उक्त सुझावलाई खासै वास्ता नगर्दा वर्षेनी हिसाब गोलमाल हुँदै गएको छ ।

महालेखाका अनुसार प्राधिकरणले तयार गरेको सेयर पुँजी तथा दीर्घकालीन ऋणसम्बन्धी विवरण पनि महालेखा नियन्त्रक कार्यालयको तथ्यांकसँग मिल्ने गरेको छैन । यसलाई मिलाउन महालेखाले वर्षेनी सुझाव दिए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन । प्राधिकरणजस्तो ठूलो संस्थाले आफ्नो हिसाब सही तरिकाले राख्न नसक्दा त्यसको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने गरेको महालेखाका एक अधिकारीले जानकारी दिए ।

महालेखाले प्राधिकरणको समग्र वित्तीय व्यवस्थापन पक्ष अत्यन्त कमजोर रहेको भन्दै त्यसलाई सुधार गर्न भनेको छ । महालेखाका अनुसार प्राधिकरणले नेपाल वित्तीय प्रतिवेदनमानको आधारमा वित्तीय विवरण तयार पारे पनि सो विवरणअनुसार लागू गर्नुपर्ने सम्पत्ति, संयन्त्र र औजारसँग सम्बन्धित उपयोगी आयु र ह्रासकट्टी तथा निर्माणाधीन सम्पत्तिको पुँजीकरण, क्षयीकरण छुट, अदृश्य सम्पत्तिको लेखांकन एवं सम्पत्ति, दायित्व, आम्दानी तथा खर्चको आपसी मिलानसँग सम्बन्धित कतिपय लेखा सिद्धान्त हालसम्म अनुसरण गर्नसकेको छैन । यसले प्राधिकरणको वित्तीय व्यवस्थापन पक्ष समग्र संस्थानहरुमै सबैभन्दा कमजोर देखिएको छ ।

महालेखाका अनुसार विद्युत् महसुल बक्यौता अघिल्लो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षमा १३ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । यसले के देखाउँछ भने प्राधिकरणको नेतृत्वले महंगोमा खरिद गरेर सस्तोमा बिक्री गरेको बिजुलीको महसुल पनि उठाउन नसकेर आफ्नो नालायकीपन प्रस्ट पारेको छ । महसुल बक्यौता १३ दशमलव १७ प्रतिशतले वृद्धि हुँदा ३६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । उक्त रकममध्ये ट्रंक तथा डेडिकेटेड फिडर लाइनतर्फ ५६ ग्राहकबाट उठाउनुपर्ने १७ अर्ब १५ करोड रुपैयाँ पनि समावेश छ । यो रकम कुल बक्यौताको ४७ दशमलव शून्य आठ प्रतिशत हो । उक्त रकम प्राधिकरणले किस्ताबन्दीमा उठाउने निर्णय गरेको छ भने संसद्को सार्वजनिक लेखा समितिले पनि उठाउन निर्देशन दिएको छ । तर, पनि प्राधिकरणले उठाउन सकिरहेको छैन । त्यस्तै सडक बत्तीको चार अर्ब ३२ करोड रुपैयाँ पनि प्राधिकरणले उठाउन सकेको छैन ।

प्राधिरकणले सम्पत्ति कर तिर्न पनि अटेर गरेको छ । महालेखाले विगतदेखि नै सम्पत्ति कर तिर्न भनेको छ । प्राधिकरण र मातहतका अधिकांश शाखाले सम्पत्तिकर भुक्तानी तथा व्यवस्थापन गरेका छैनन् । अघिल्लो वर्ष नै प्राधिकरण छ करोड ३५ लाख रुपैयाँ सम्पत्ति कर बुझाउन बाँकी छ ।

प्राधिकरणमा विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १५ दशमलव ९९ प्रतिशत चुहावट रहेकामा आर्थिक वर्ष २०७७/०७८ मा त्यो चुहावटको प्रतिशत बढेर १७ दशमलव १८ प्रतिशत पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x