Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले भन्यो– महंगी अझै बढ्छ

राष्ट्र बैंकले भन्यो– महंगी अझै बढ्छ


काठमाडौं । माग, आपूर्ति र उत्पादनबीचको असमानताको कारण नेपालमा आगामी केही समय अझै वस्तुको बजार मूल्य (महंगी) बढ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ (२०२१/२२) को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले पनि आगामी समय नेपालमा मूल्यवृद्धि बढ्नसक्ने देखाएको हो ।

सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता लिइएको थियो । राष्ट्र बैंकका अनुसार सर्वेक्षणमा विराटनगर, वीरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, जनकपुर, भरतपुर, तौलिहवासहितका ३१ वटा सहरमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा २५ देखि ५६ वर्षका उमेर समूहका व्यक्तिहरुलाई समेटिएको थियो ।

सो अनुसार सर्वेक्षण एक हजार एक सय ४१ सहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा दुई सय १० थप व्यक्तिहरू थपिएका छन् । सर्र्वेक्षणको प्रमुख नतिजाहरुमा ९४ दशमलव सात प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी, ९४ दशमलव चार प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

सर्वेक्षणअनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा बढेको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा घटेको छ । तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति चैत, २०७८ को तुलनामा थोरै घटेको देखिएको छ । तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३ दशमलव पाँच प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा मुद्रास्फीति घट्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x