Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारत निकासी हुन लागेको सुपारी बरामद

भारत निकासी हुन लागेको सुपारी बरामद


विराटनगर । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्ना नजिकका ट्रेडिङका कारोबारीलाई कोटा वितरण गरेर नेपाल भित्र्याइएको विदेशी सुपारीलाई गैरकानुनी ढंगबाट विराटनगर भन्सारकै बाटो प्रयोग गरेर भारतको कोलकोता लैजान लागिएको अवस्थामा सुपारीसहितको आठवटा ट्रक प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय सुनसरी इटहरीमा बुझाएको छ ।

सुपारीका कारोबारीले तत्कालीन ओली सरकारले वितरण गरेको कोटाअन्तर्गत करिब एक वर्षअगाडि इन्डोनेसिया, सिंगापुर र मलेसियाबाट आयात गरी नेपालमा स्टोर गरी राखेका थिए । स्टोर गरी राखेको सुपारी बिग्रन थालेको भन्दै विदेशी सुपारीलाई नेपाली पहिरन लगाएर उनीहरूले गत बिहीबार भारततर्फ लानलागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बिहीबार राति १० बजेको समयमा विराटनगर एकीकृत भन्सार जाँच चौकीको भारततर्फको परिसरमा पुगेको आठवटा भारतीय ट्रकलाई प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान सुनसरीमा बुझाएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका भारतीय ट्रकहरूमा एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, यूपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, यूपी ५० एटी ३१५८, यूपी ६२ सीटी ०६२७, यूूपी ४५ टी १६२४ नम्बरको ट्रकहरू राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो । ती ट्रकमा दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम सुपारी सुपारीका ट्रेडिङ कारोबारीले भारतको कोलकोता पठाउने तयारीका साथ कारोबारीले भ्याट बिल समेत जारी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

भारत निकासी हुनलागेको आठ ट्रक सुपारी प्रहरीले कब्जामा लिएपछि सुपारी व्यापारीहरूका बीच खैलाबैला सुरू भएको छ । स्रोतका अनुसार २०७८ साल असार २७ गते झापाको नेपाल सुपारी खेती विकास संस्थाले आर्थिक वर्ष २०७१–०७२ मा झापामा नौ हजार सात सय ७२ मेट्रिक टन सुपारी उत्पादन भएको भन्ने सिफारिस बनाइदिएको र कृषि ज्ञान केन्द्र झापाले स्टक प्रमाणित गरिदिएका आधारमा नेपाली सुपारी भन्दै झापा र विराटनगरका केही सुपारी व्यापारीले विदेशको सुपारी भारत निकासी गर्दै आइरहेका छन् । त्यसैलाई आधार बनाएर अहिले त्यही सुपारी निकासी भैरहेको आशंका गदै मोरङ प्रहरीले आवश्यक छानबिन र अनुसन्धानका लागि पक्राउ गरी राजस्व अनुसन्धानमा पठाएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार अर्थिक वर्ष २०७८–०७९ सालमा भन्सार नाका भएर २२ लाख ४८ हजार आठ सय पाँच केजी सुपारी भारत निकासी भएको छ । त्यसबाट सरकारले राजस्वबापत २९ हजार मात्र राजस्व पाएको छ । केन्द्रदेखि जिल्लासम्मको सेटिङमा इन्डोनेसिया, मलेसिया, सिंगापुर आदि मुलुकबाट सुपारी आयात गरी नेपालमा उत्पादन भएको सुपारी हो भन्ने कागजी प्रमाण मिलाएर भारत निकासीको धन्दा गर्ने विराटनगरका सुपारी खेलाडीहरूले सोबापत अर्बाैँको खेल हुनेगरेको समाचारस्रोतले दाबी गरेको छ ।

विराटनगर भन्सार नाका भएर गत आर्थिक वर्षमा सुपारी आयात गर्ने व्यापारिक फर्महरूमा अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसलन, पीके ट्रेडर्स, तिरूपति ट्रेडलिंक र नेसनल मोटोर्स अग्रस्थानमा रहेका छन् । स्रोतका अनुसार सुपारीका मुख्य व्यापारीहरूमा झापाका गोविन्द सरिया र प्रदीप मित्तल हुन् भने विराटनगरका दिनेश राठी र प्रदीप मुरारका अग्रपक्तिमा रहेका छन् । यी दुवै सुपारी कारोबारीले नै सबैतिर सेटिङ मिलाएर सुपारी भारत निकासी गर्नेगरेका छन् ।

गत बिहीबार पक्राउ परेको आठ ट्रक सुपारी प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम भएको मनोकामना ट्रेडर्सले आफ्नो भ्याट नम्बर ३०११८२२८५ बाट भारतको कोलकात्ता सुपारी बिक्री गरेको बिल जारी गरेसँगै सुपारी खेलाडी व्यापारीको रहस्य बिस्तारै खुल्न थालेको छ । उक्त मनोकामना ट्रेडर्सका सञ्चालक नबिन घिमिरे एक खेलाडी मात्र भएको र उनी सुपारी व्यवसायी नै नभएको हुँदा यो सुपारी प्रकरणमा सञ्चालक घिमिरे पूरै अनभिज्ञ रहेको दाबी पनि स्रोतले गरेको छ ।

२०५९ सालमा दर्ता कायम भएको मनोकामना ट्रेडर्सले लामो समयसम्म कुनै कारोबार नै नगरेको भन्दै उक्त फर्मले आफ्नो कारोबारको कुनै पनि विवरण अहिलेसम्म पनि आन्तरिक राजस्व कार्यालय विराटनगरमा अध्यावधिक गरेको छैन । तर फर्म दर्ता भएको करिब–करिब १७ वर्षपछि आर्थिक वर्ष ०७७/०७८ मा करि ४० करोड आयात गरेको विवरण दर्ता भएको देखिएपछि उक्त फर्ममा कुनै अदृश्य शक्तिको चलखेल रहेको रहस्य पनि अहिले आएर खुलेको छ । स्रोतका अनुसार यो काममा सौर्य एयरलाइन्सका संस्थापक एवं सुपारीका कारोबारी दिपक पोखरेललगायतको सुपारीटोली नै संलग्न रहेको स्रोतको दाबी छ । यसरी आपसी मिलेमतोमा नै नेपाल सुपारीखेती विकास संस्था र कृषि ज्ञान केन्द्र समेतको संमलग्नता रहेको दाबी पनि गर्न थालिएको छ ।

सुपारी पक्राउपछि विदेशी सुपारीलाई नेपालको सुपारी बनाई भारत निकासी गर्न सेडिङ मिलाउन तात्कालीन केपी ओलीको सरकार हुँदा झापाली व्यापारीहरूले दीपक पोखरेलमार्फत ओलीसँगै भेट गरेर ९६ करोड दिने कबोल गरेको स्रोतको दाबी छ । त्यसमध्ये पेश्कीका रूपमा ५५ करोड बुझाइसकेपछि बीचमै ओली नेतृत्वको सरकार ढलेको थियो । तर पुरानै सेटिङमा सो समूहले हाल पनि काम गरिरहेको हुँदा सेटिङ मिलाउनका लागि मात्रै सुपारी पक्राउको नाटक गरेको दाबी पनि गर्न थालिएको छ । यो सुपारी पक्राउ प्रकरणलाई सेफल्यान्ड गरी सेटिङ मिलाउनका लागि नै प्रहरीले समेत सुपारी पक्राउ गरी आवश्यक कारबाही र अनुसन्धान भन्दै राजस्व अनुसन्धान सुनसरीमा बुझाएको व्यवसायीको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x