Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमालुखोला बजारमा बाढीपहिरो, १७ घरमा क्षति

मालुखोला बजारमा बाढीपहिरो, १७ घरमा क्षति


दोलखा । दोलखाको दक्षिणी क्षेत्र मालुखोलामा आएको बाढीपहिरोेले मालुखोला बजारमा १७ घरमा क्षति पु-याएको छ । तामाकोशी गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको मालुखोलामा आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पु-याएको स्थानीय सन्तोष पोख्रेलले जानकारी दिए ।

बजारमाथिको ठाडो खहरे खोलाबाट आएको बाढीले मालुखोला बजारका साना–ठूला पाँचवटा पसल पुरेको छ भने बजारनजिकै रहेको बेसीका १३ वटा घरमा क्षति पु-याएको छ । बाढी पसेर क्षति गरेका घरबाट स्थानीयलाई उद्धार गरिएर सोमबार सुरक्षित ठाउँमा लगिएको तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले जानकारी दिइन् । बाढीले तामाकोशी मन्थली सडकमा पनि क्षति पुगेको छ । यस्तै धानखेत पनि पुरेको छ । आइतबार राति भएको भीषण वर्षापछि बाढीपहिरो आएको हो । यस्तै तामाकोसी गाउँपालिका–७ हावामा पनि बाढी पसेर गंगाबहादुर सुनुवारको घर र व्यावसायिक फर्ममा क्षति गरेको छ । आइतबार रातिकै वर्षाले शैलुङ गाउँपालिका–८ मा पहिरोले क्षति गरेपछि ३० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

लगातारको अविरल वर्षाको कारण जिल्लामा बाढीपहिरोका घटना बढेको पाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । लगातारको वर्षापछि आएको बाढी पहिरोले तामाकोशी, बिगु, कालिञ्चोक, मेलुङ, शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका विभिन्न ठाउँमा क्षति पु-याएको छ ।

यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा दुई वर्षदेखि निरन्तर पहिरो बगिरहेको छ । रानी भिरको पहिरोले सो वडाका करिब चार सय घरपरिवार जोखिममा रहेका छन् भने, ४५ घरपरिवार विस्थापित बनेका छन् । सयौँ हेक्टर जमिन पहिरो तहसनहस बनाएको छ । त्यस्तै भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाभित्रका तीन दर्जनभन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । बैतेश्वर गाउँपालिका तीनवटा घर र एउटा व्यावसायिक कुखुरा फार्ममा पहिरो पसेपछि तत्काल पहिरो रोक्नका लागि तिर्पाल टाँगेर राखिएको स्थानीयले बताएका छन् ।

यसैगरी पहिरोले जिल्लाभरका सडकमा क्षति पुगेको छ । चरीकोट–जिरी सडकको नौ ठाउँमा माथिल्लो क्षेत्रबाट पहिरो खसेर सडकमा माटो झरेर बसेको छ । तत्काल सडक अवरुद्ध नबने पनि निरन्तर ढुङ्गामाटोको लेदो बगिरहेकाले सडक अवरुद्ध हुनसक्ने बताइएको छ । यस्तै पहिरोको कारण पुतलीकाठ–पाइले–चिलाउनेखड्क सडक अवरुद्ध हुँदा गाउँसम्म बस चल्न सकेको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x