Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगलाई म्याद थपको सुविधा दिइने

उद्योगलाई म्याद थपको सुविधा दिइने


काठमाडौं । मन्त्रिपरिषद् बैठकले भौतिक संरचना निर्माणलगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगलाई म्याद थपको सुविधा दिने भएको छ । उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपसम्बन्धी समयभित्र निवदेन दिन नसकि म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माणलगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवदेन दिएमा उद्योग स्थापनको लागि गर्नुपर्ने निर्माणकार्यलगायतका कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानुनबमोजिको विलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकिएबमोजिम म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउको आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाश गर्न स्वीकृति दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । योसँगै उद्योगीलाई राहत हुने देखिन्छ ।

यस्तै, बैठकले वैदेशिक सहयोग लिने जनाएको छ । गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने करिब ९५ करोड रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने जनाएको छ भने सबैको लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने करिब एक अर्ब ३७ करोड रुपैयाँ अनदुान सहायता नेपाल सरकारले स्वीकार गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले विश्व व्यापार संगठन नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्यास समेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने तथा फिनल्यान्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा सचिव सिँचाइ सागरकुमार राईलाई सहभागी हुन सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।

यस्तै, बैठकले सरकारले साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाँचौँ सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने, नेपालीमूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडीस सीएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनीत गर्ने, गोरखा जिल्ला साविक वारपाक गाविस वडा. नं. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६–१०–३–० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले बताए ।

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने, राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय गरेको पनि उनले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x