Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँपालिकामा बैंक नहुँदा समस्या

गाउँपालिकामा बैंक नहुँदा समस्या


बझाङ । बझाङको साइपाल गाउँपालिकाका बासिन्दालाई स–सानो रकम जम्मा गर्न होस् वा निकाल्न होस् अर्को गाउँपालिका जानुपर्ने बाध्यता छ । पालिकामा शाखा खोल्ने जिम्मा पाएको बैंकले समयमै शाखा नखोल्दा त्यहाँका नागरिकलाई बैंकिङ सेवा लिन निकै सकस परेको हो । घन्टौँ हिँडेर अर्को गाउँपालिकासम्म जाँदा पनि पालो नपाइने र भुक्तानी नपाइनेलगायतका गुनासो सेवाग्राहीको छ ।

सेवाग्राही तीनदेखि चार दिन पैदल हिँडेर सदरमुकाम चैनपुुरबाट बैंकिङ सेवा लिन बाध्य रहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा बताउँछन् । ‘यहाँका नागरिकले तीनदेखि चार दिनको बाटो हिँडेर सदरमुकाम चैनपुुरबाट बैंकिङ सेवा लिइरहेको अवस्था छ’, उनले भने, ‘अहिले गाडी तलकोटसम्म पुगेकाले केही सहज छ तर पैदल हिँडेर जानेहरूले तीन–चार दिनको बाटो हिँड्नुपर्ने हुनाले गाह्रो छ ।’ अध्यक्ष बोहराले वृृद्धवृदाहरूको भत्ता भने सचिवमार्फत रकम निकालेर गाउँपालिकाले प्रत्येकको घर–घरमा गएर बुझाइरहेको बताए । अहिले इन्टरनेट, सञ्चार, टेलिफोन, बाटोलगायतको समस्या रहेको उल्लेख गर्दै उनले त्यो समस्यालाई समाधार गरी एभरेष्ट बैंकलाई ताकेता गरी बैंक गाउँपालिकामा पु-याउने योजनामा गाउँपालिका रहेको बताए । अहिले त गाउँमा बैंक पनि छैन तर हुँदा सुरक्षाको दृष्टिकोणले पनि जोखिम रहेको गाउँपालिकामाा कार्यरत लेखा पवन भट्टराईले बताए । गाउँपालिकामा लुटेराद्वारा रकम लुुट्ने प्रयास भएको र स्थानीयले लुटेराका समूहलाई तितरबितर बनाएको पनि बताए ।

नेपालका सात सय ५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको छ । बझाङमा १२ स्थानीय तहमध्ये ११ पालिकामा बैंकिङ सेवा पुगिसकेका छन् । नेपालभरि सात सय ५३ स्थानीय तहमध्ये सात सय ५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुुसार अब बझाङको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने राष्ट्र बैंकको नीतिबमोजिम हालसम्म पनि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न नसकेको हो । त्यसो त साइपालमा एभरेष्ट बैंकले शाखा खोल्ने जिम्मा पाएको थियो । बैंकले विद्युत्, इन्टरनेट, टेलिफोन रसडकलगायतको समस्याका कारण देखाउँदै शाखा खोल्न नसकेको जनाइएको छ । साइपालमा चार सय ५० घरधुरी छन् । त्यहाँका ३ हजार मानिस बैंकिङ पहुँचबाट टाढा छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x