Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्लास्टिकजन्य सामग्रीको आयात, उत्पादन र बिक्रीवितरणमा प्रतिबन्ध

प्लास्टिकजन्य सामग्रीको आयात, उत्पादन र बिक्रीवितरणमा प्रतिबन्ध


काठमाडौं । सरकारले प्लास्टिकजन्य पुष्पगुच्छा, मालालगायतका सामग्रीको आयात, उत्पादन र बिक्रीवितरण तथा भण्डारणमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले मंगलबार प्लास्टिकजन्य सामग्रीको आयातमा रोक लगाउने सूचना जारी गरेको छ । वातावरण प्रदूषण कम गर्नदेखि लिएर मानवीय स्वास्थयलाई मध्यनजर गर्दै विभागले प्लास्टिकजन्य सामग्रीको आयातमा रोक लगाउने सूचना जारी गरेको हो ।

प्लास्टिकजन्य पुष्पगुच्छा र मालाको आयातमा रोक लगाउँदा वार्षिक करिब १० करोड रूपैयाँको आयात रोकिने विभागले जनाएको छ । वातावरण प्रदूषण पनि कम हुने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोग बढ्दा पुष्प व्यवसाय पनि प्रवर्द्धन हुने भएकाले यस्ता सामग्रीको आयातदेखि उत्पादन र बिक्रीवितरणमा रोक लगाइएको विभागले जनाएको छ ।

यस्तै विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बन्देज गर्ने निर्णयलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गरेको छ । विभागले प्लास्टिकको झोला बन्देज गर्ने नेपाल सरकारको निर्णय र सर्वोच्च अदालतको परमादेशलाई कार्यान्वयन गरेर सहयोग गर्न आग्रह गरेको छ । भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगको अवस्थालाई कडाइका साथ अनुगमन गरिने विभागले जनाएको छ । सरकारको निर्णयविपरीत प्रयोग भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुने वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले फोहोर व्यवस्थापन एवं वातावरण प्रदूषण रोक्नका लागि पनि प्लास्टिकजन्य झोलाको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए । १७ माघ २०७८ को मन्त्रिपरिषद्को निर्णयअनुसार प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई कार्यान्वयनको चरणमा भए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन ।

प्लास्टिकको झोला प्रयोगमा बन्देज लगाउँदा अधिकांश नालाहरूमा प्लास्टिककै कारण ढल थुनिने, माटो प्रदूषण हुने, उर्वर शक्तिमा ह्रास आउनेजस्ता समस्याको समाधान हुने मन्त्री यादवको विश्वास छ । कागज वा कपडाको झोलालाई प्रोत्साहन गर्नुका साथै प्लास्टिक व्यवसायीलाई विकल्प प्रदान गर्नुपर्ने उनले जोड दिएका छन् । कोभिड–१९ को प्रकोपका कारण अनुगमन खुकुलो भए पनि अब अनुगमनलाई तीव्रता दिएर यस्ता सामग्रीको प्रयोग भएको पाइएमा कानुनबमोजिम कारबाही पनि गरिने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x