Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको १४औँ वार्षिकोत्सव

ज्योति विकास बैंकको १४औँ वार्षिकोत्सव


काठमाडौं । ज्योति विकास बैंकले सोमबारको दिन स्थापनाको १४औँ वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक सेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति रहेको थियो ।

१४औँ वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ । यस माध्यमअन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने सेवासहितको भिडियो केवाईसी सार्वजनिक गरेको हो । यसपश्चात् देश–विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनबाट खाता खोली सञ्चालनमा ल्याउन सक्नेछन् । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन् । सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्तरूपमा कर्मचारीहरूलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।

समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत राधा पौडेल फाउन्डेसनसँग ‘मर्यादित महिनावारी’ सचेतनामा आधारित परियोजनाहरूमा सहकार्यका लागि सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ ।

कार्यक्रममा अध्यक्ष खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहीअनुरूपको सहयोग प्रदान गर्न आह्वान गरे । अध्यक्ष खड्काले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मूल्य मान्यताहरूको अधीनमा रही बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरिकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९औँ शाखाको औपचारिक उद्घाटन पनि गरेको छ । डल्लु शाखाको समुद्घाटन बैंकका पूर्वअध्यक्ष तथा बैंकका संस्थापक सेयरधनी धु्रव कुमार उप्रेती र बैंकका अध्यक्ष खड्काले संयुक्तरूपमा गरेका थिए । बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहजरूपमा ग्राहकसमक्ष पु-याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । डल्लु शाखा उद्घाटनपश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको एक सय १९ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x