Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिला खानेपानीकै अभाव, अहिले सिँचाइको समेत सुविधा !

पहिला खानेपानीकै अभाव, अहिले सिँचाइको समेत सुविधा !


सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–६ डाँडाकटेरीका स्थानीयले भूकम्पपश्चात् चलिरहेको मुहानबाट पानी आपूर्ति बन्द भएपछि लामो समयसम्म खानेपानी समस्या झेले । खानेपानीको अभावले यहाँका १८ घरधुरी बसाइ सर्नुपर्ने अवस्थामा समेत पुगेको थियो ।

गाउँमुनि दुई सय ५० मिटर तल बसेरी खोलामा पानी बगेर त्यसै खेर जान्थ्यो । तर यहाँका स्थानीयलाई पानी खानकै लागि धौधौ हुन थाल्यो । बस्तुभाउलाई खुवाउन पनि गाडीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था थियो । गाउँमुनिको पानी बस्तीमा ल्याउन ठूलो धनराशि चाहिन्थ्यो, त्यत्रो पैसा गाउँलेसँग थिएन । उनीहरूले संघसंस्थालाई हारगुहार गरे । जापानको परराष्ट्र मन्त्रालयले २९ लाख ५९ हजार एक सय ९७ रूपैयाँ ९३ पैसा दिने भयो । पिस विन्ड्स जापानमार्फत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले स्थानीय साझेदार संस्थाको रूपमा काम गर्न अग्रसरता देखायो । स्थानीयले जुक्ति निकाले बसेरी खोलाको पानी लिफ्टिङ गरेर तान्ने र खानेपानी अभावको समाधान निकाल्ने । सौर्य ऊर्जाबाट पम्पिङ गरी बसेरीखोला डाँडाकटेरी खानेपानी आयोजना नाम दिएर २०७७ साल मंसिर २२ गतेदेखि स्थानीय निर्माणमा कस्सिए । चार महिनामै गाउँलले सौर्य ऊर्जाबाट पम्पिङ गरी पहराबाट पाइप राखेर खानेपानी आयोजना सम्पन्न गरेर बसेरीखोला पानी सदुपयोग गर्ने सपना साकार पारे । ६७ हजार रूपैयाँ बराबर श्रमदान स्थानीयले गरे ।

अहिले स्थानीयका हरेक घरमा खानेपानी धारा जडान भएको छ । उनीहरू अहिले भरपुर खानेपानी प्रयोग गरिरहेका छन् । तल मुहानबाट माथि गाउँसम्म पु¥याउनका लागि दुई ठाउँमा ३—३ एचपीको पम्प र सोलार सञ्चालन गर्ने नौ—नौवटा सोलार प्यानल जडान गरिएको छ । मुहानका बीचमा र गाउँको शिरमा गरी तीन ठाउँमा पाँच हजार लिटरको संकलन ट्यांकी निर्माण गरिएको छ । मुहानमा बनाएको इन्टेकबाट पानीलाई मुहानतल रहेको संकलन ट्यांकीमा जम्मा गरिन्छ । उक्त संकलित पानीलाई सोलार पम्पको सहयोगमा बीचमा रहेको ट्यांकीमा पु-याउँछ । बीचको ट्यांकीमा संकलन भएको पानी फेरि सोलारपम्पकै सहायताले गाउँको शिरमा रहेको ट्यांकीमा संकलन गरिन्छ । किफायती प्रविधिको जडानसँगसँगै सोलार प्यानल र पम्पसम्बन्धी आधारभूत तालिम उपभोक्ता समितिलाई संस्थाले दिएको छ । योसँगै यस्तै काकाकुल अवस्थामा रहेका बस्तीमा धोबिनीखोला गहते कामिश्वारा, सिस्नेरी उनेचौर तल्लो गाउँ, अँधेरी खोला सुनखानी, जामुने खोला ढाँड, कदमफेद पीपलटार खानेपानी आयोजना गरी छवटा खानेपानी आयोजना सम्पन्न गरिएको पिस विन्ड्स जापानका टिम लिटर डा. रामचन्द्र भुषालले बताए ।

सिँचाइको समेत सुविधा, तरकारी बेचेर आम्दानी
यी आयोजनाले खानेपानी मात्र दिएको छैन, स्थानीयको कृषि आय सुधार पनि भएको छ । टोलमा नै पानी आउन थालेपछि पिउनको लागि मात्रै नभएर तरकारी खेती गर्नका लागि पनि सजिलो भएको छ ।

पानीको सुविधापछि स्थानीयले तरकारीखेतीबाट कमाउन पनि थालेका छन् । स्थानीय मनमाया तामाङ भन्छिन्, ‘धारो राखेदेखि द्येरै सजिलो भएको छ । लसुन, प्याज, साग खान खाँचो भएको छैन । एक वर्षमा एउटा टनेलभित्रको गोलभेँडा बेचेर ३५ हजार कमाइ भयो ।’ तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयले तरकारीखेतीलाई विस्तारै व्यवसायिक खेतीमा विस्तार गरेको बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङ बताउँछिन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी खेतीतर्फ किसानहरू थप आकर्षित भएका हुन् । ‘खुला जग्गामा खेती गर्दा खासै राम्रो भएन, विस्तारै टनेल बढाउँदै गयौँ’, स्थानीय नेत्र तामाङले भने, ‘टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभेँडा र टिप्नका लागि तयारी गोलभेँडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ ।’

अहिले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, फर्सिको मुन्टा, करेला, धनियाँ, काँक्रो, घिराउँला, सिमी, काउलीजस्ता तरकारी फलाएर किसानले मनग्य आम्दानी गरिरहेको आइस्यापका जिल्ला कार्यक्रम संयोजक गोपिकृष्ण दगांलले बताए । विगतमा एक घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने अवस्थाका बस्तीमा अहिले घर–घरमा धारा निर्माण भएको छ । पानीको सुविधा भएपछि तरकारी खेती गरेर कृषकको आम्दानीमा ५२ प्रतिशतले वृद्धि भएको बलेफी ४ का वडा अध्यक्ष सुर्य तामाङले बताए । खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाबाट मेलम्ची नगरपालिका वडा नं ९ का १५ कृषक समूहका दुई सय २१ घरधुरी, सुनकोशी गाउँपालिका वडा नं ६ का १० कृषक समूहका दुई सय घरधुरी र बलेफी गाउँपालिका वडा नं ४ र ६ का २ सय ५६ घरधुरी लाभान्वित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x