Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा

पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा


काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी प्रदर्शनमा राखेको छ । समितिले बुधबार पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी नारायणहिटी दरबार संग्रहालयमा खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमशः प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिए । समितिको अध्यक्षसमेत रहेका उनले संग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने बताएका हुन् । संग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गरेको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ । बा अ २ नम्बरको गाडी त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले जानकारी दिए । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्ने गरेको समितिले जानकारी दिएको छ ।

यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गरेको बा१च २६६३ नंम्बरको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उनले बताए । तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रंगरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताए ।

विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई संग्रहालयका रूपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्न सक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । सात सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये संग्रहालयले करिब पाँच सय ११ रोपनी भाग ओगटेको छ ।

दरबार क्षेत्रको करिब दुई सय ४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिक स्थल रहेकाले संग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x