Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा रकम ठगीसम्बन्धी कसुरमा छ जना पक्राउ

बीमा रकम ठगीसम्बन्धी कसुरमा छ जना पक्राउ

सावधिक जीवन बीमा र म्यादी जीवन बीमाबापतको साढे दुई करोड ठगी


काठमाडौं । सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमाबापतको नगद दुई करोड ५० लाख रूपैयाँ ठगीसम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ वतन भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ वतन भएका ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ वतन भएका ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ वतन भएकी आरती भन्ने २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा २०७८ वैशाख २ गते मृत्यु भएको थियो । मृतकको बीमाबापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझी कामना सेवा विकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाँडफाँट समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाऊँ भन्ने नेपाल पुनर्बीमा कम्पनीबाट पत्राचार भएपछि सूक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिकासहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार तथा सञ्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बैंकिङ कसुर गरी भागेका व्यक्ति पक्राउ
। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ असोज ८ गतेको फैसलाले उक्त मुद्दामा तीन दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँबजारबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x