Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगुणस्तरीय शिक्षा र शिक्षकको भूमिका

गुणस्तरीय शिक्षा र शिक्षकको भूमिका


काठमाडौं । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । शिक्षण सिकाइ क्रियाकलाप गुणस्तरीय बनाउन शिक्षक, विद्यार्थी र पाठ्यक्रमको त्रिकोणात्मक सम्बन्ध स्तरीय हुनु आधारभूत सर्त हो । जसको लागि प्रतिभाशाली जाँगरिलो शिक्षकको अपरिहार्य हुन्छ । शिक्षकको लागि तोकिएको न्यूनतम योग्यता, नियुक्ति प्रक्रियाको विधि तथा त्यसको कार्यान्वयन इमानदारी आदिबाट पनि उत्कृष्ट शिक्षकको औचित्य पुष्टि गर्दछ । शिक्षण पेसामा प्रवेश गरी सकेको जनशक्तिलाई हौसला प्रदान गर्न र उनीहरूमा भएको मैजुदा ज्ञान सीपलाई परिस्कृत गदै पारम्गत सक्षमता ल्याउनका साथै जाँगरिलो बनाउने रणनीति अवलम्बन गर्न चुक्नु हुन्न । पेसागत उत्कृष्टता हाँसिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निष्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नुपर्दछ ।

शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीको रुचि, क्षमताअनुसार व्यवस्थित बनाउनको लागि विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ । शिक्षण सिकाइ प्रभावकारिताको सूचक विद्यार्थीले हासिल गर्ने उपलब्धीस्तर हो । शिक्षण एउटा कला मात्रै नभएर सामाजिक गतिविधि हो । विद्यालय सामाजिकीकरण गर्ने संस्था पनि हो भन्दा अन्यथा नहोला । विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापनलगायतका पदाधिकारीबीच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोग गर्ने उत्साहजनक वातावरण तर्जुमा एवं सिर्जना गरिनुपर्दछ । शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापूर्वक पेसाप्रति समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ । त्यस्तै साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न ।

विद्यालय सञ्चालनमा सहभागितामूलक कार्य गर्ने गराउने परम्पराले लोकतान्त्रिक प्रक्रियाबाट निर्णय र निष्कर्षमा पुग्नु सहजता मात्रै प्रदान गदैन साथै स्वामित्व तथा अपनत्वको भावनाको विकास गराउदछ । जुन संस्था फस्टाउन अपरिहार्य छ । विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको पनि ज्ञानको दायरालाई फराकिलो बनाउने अर्थात् सिक्ने थलोको रूपमा स्थापित गराउनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिवृत्तिबाट कहिल्यै बुढो हुँदैन अत निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्दछ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हुँदा अब शिक्षकको कार्यगत क्षमता, लगनशीलतामा ऊर्जा थप्न पेसागत सुरक्षा सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्षरूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वाग्राही ढंगबाट आँच पु-याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा अफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नुपर्दछ । जानीजानी पदीय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन सके शिक्षक स्वभिमानीपूर्वक आफ्नो पेसागत धर्म निर्वाह गर्न उत्साही हुनेछन् । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रीयस्तरमा संवैधानिक शिक्षकसेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुट्टै न्ययालयको व्यवस्था भएमा शिक्षक पदको गरिमा अझ बढ्नेछ ।

उच्च योग्यता भएका तथा तालिम प्राप्त शिक्षकले पढाएका र तालिम र अनुभव कम भएका शिक्षकले पढाएका विद्यार्थीहरूको विषयगत उपलब्धीमा खास अन्तर पाइँदैन । अझ कतिपय अवस्थामा तालिम अप्राप्त शिक्षकले उछिनेको पाइन्छ । त्यस कारण विद्यमान प्रविधि र प्रवृत्तिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धिसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शीरूपमा गर्नसके गुणस्तरीयता कायम गर्न होस्टेमा हैँसे हुनेछ । विद्यार्थीले छ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घर–परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्ततालगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरञ्जीवी सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्दैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेन्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भएअनुसार कम्तीमा एक सय ८० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सचालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवं मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हड्तालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरूनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । त्यसकारण विद्यार्थीको भाग्य र भविष्यसँग गाँसिएको शैक्षिक कार्यक्रम, कार्यान्वयनमा ढिलासुस्ती, अनियमितता, लापरबाही, जवाफदेहिता र जिम्मेवारीलाई उपेक्षा र आफ्नो पेसागत धर्म निर्वाह नगर्नेलाई शैक्षिक भ्रष्टाचारीको रूपमा परिभाषित गरी कानुनको दायरामा ल्याउन सकेमा शिक्षाको विकास र विस्तारमा सकारात्मक काम हुनजान्छ । विद्यार्थी वनस्पतिको एकदाना बीउजस्तै हो, त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउनसके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ । उनीहरूलाई बाल क्लबमार्फत भविष्यको लागि चाहिने ज्ञान, सीप, अभिवृद्धि हाँसिल गर्न प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गरिनुपर्दछ ।

अतः शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक, सामाजिक, आर्थिक, शारीरिक, राजनीतिक रूपमा सचेत, सबल सन्तुष्ट बनाउनुपर्दछ । त्यस्तै शिक्षाको हरेक क्षेत्रमा व्यक्तिभन्दा विधिको शासन, नेताभन्दा नीतिको मार्गदर्शन, दाताभन्दा डाटालाई नीति निर्माणमा प्रधानता दिँदै नौ ‘अ’ (अभिभावक, अध्यापक, अध्ययनार्थी(विद्यार्थी), अध्ययन विषय र विधि, अनुशासन, अपनत्व, अनुदान, अनुगमन (निरीक्षण) र अनुसन्धान)लाई मध्यनजर राखेर योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेमा एक प्रतिस्पर्धी स्वाभिमानी पौरखी नागरिक उत्पादन गर्न सकिनेछ । नयाँ नेपालको परिकल्पनालाई साकार रूप दिन उसको योगदान अर्थपूर्ण एवं उदाहरणीय हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x