Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि क्षेत्रमा वाणिज्य बैंकहरूको चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा

कृषि क्षेत्रमा वाणिज्य बैंकहरूको चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा


काठमाडौं । वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम १२ प्रतिशत, २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । ‘सोअनुसार २०७८ चैत मसान्तमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा औसतमा १२ दशमलव २८ प्रतिशत अर्थात् चार खर्ब ९० अर्ब १५ करोड कर्जा प्रवाह गरेका हुन्’, राष्ट्र बैंकले भनेको छ ।

ऊर्जा क्षेत्रमा भने वाणिज्य बैंकहरुले कुल दुई खर्ब २० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०८० असार मसान्तसम्म सात प्रतिशत, २०८१ असार मसान्तसम्म आठ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । सोअनुसार २०७८ चैत मसान्तसम्ममा ऊर्जा क्षेत्रमा औसतमा पाँच दशमलव ५१ प्रतिशत अर्थात दुई खर्ब २० अर्ब आठ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा भने वाणिज्य बैंकहरुले झण्डै चार खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०८० असार मसान्तसम्म १२ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत र २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा, एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत, प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार २०७८ चैत मसान्तमा उक्त क्षेत्रमा औसतमा नौ दशमलव ८५ प्रतिशत अर्थात तीन खर्ब ९३ अर्ब २८ करोड कर्जा प्रवाह भएको छ ।

यसैगरी विकास बैंकहरुले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत, २०८० असार मसान्तसम्म १९ प्रतिशत र २०८१ असार मसान्तसम्ममा २० प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकको भनाई छ । सो अनुसार २०७८ चैतमा विकास बैंकहरुले यो क्षेत्रहरुमा औसतमा २६ दशमलव ६२ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । फाइनान्स कम्पनीहरुले भने २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार २०७८ चैत मसान्तमा भने यी क्षेत्रहरुमा औसतमा २१ दशमलव ९२ प्रतिशत अर्थात् १६ अर्ब १५ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुुसार अहिले वाणिज्य बैंकहरुको कुल संख्या २६, विकास बैंकहरुको कुल संख्या क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ र फाइनान्स कम्पनीहरुको संख्या १७ वटा रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x