काठमाडौं । आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।
बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताए । उद्योगमैत्री वातावरणविना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ छ ।
उद्योगहरुको स्थापना देखी सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले वीरगञ्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी दिए । साथै उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे । ‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ । यहाँका युवाहरुलाई उचित तालिमको व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह गर्छ’, उनले भने ।
सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउनसक्ने बताए । त्यसका लागि पावर ह्विलिङलगायतको व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ । साथै उनले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन आग्रह गरे ।
यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजिकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानुन र नियमावलीबारे जानकारी गराउनुपर्नेमा जोड दिए । ‘उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन् । पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहदै आएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरको लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ’, उनले भने, ‘सिमराको विशेष आर्थिक क्षेत्र पीपीपी मोडलबाट सञ्चालनमा ल्याउन खोज्नु प्रशंसनीय छ ।’
यस्तै परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगतलगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको बताए । उनले आगामी भदौं २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउँदै उक्त सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताइन् । यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाइ थियो । ‘आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसँग मिलेर काम गरिरहनु पनि उत्तिकै जरुरी छ । नेपाल उद्योग परिसंघले आर्थिक वृद्धिका लागि प्रान्तीय सरकारसँग मिलेर गरिरहेको काम प्रभावशाली छ’, उनले भनिन् ।
सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन समेत गरेको छ । संघको अध्यक्ष वीरेन्द्र संघाई छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया