Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअष्ट्रेलियामा बाबा एजुकेशनद्वारा खुल्लमखुल्ला ‘मानवतस्करी’

अष्ट्रेलियामा बाबा एजुकेशनद्वारा खुल्लमखुल्ला ‘मानवतस्करी’

सरकार मौन


काठमाडौं । शैक्षिक परामर्शदायक कम्पनीको रुपमा दर्ता र अनुमति पाएको न्युरोडस्थित एक कन्सल्टेन्सीले खुलमखुल्ला भिजिटर भिसामा मानव तस्करी गरिरहेको खुलेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिन भनेर सञ्चालित बाबा एजुकेशन कन्सल्टेन्सीले भिजिटर भिसाको नाममा मानव तस्करी गरिरहे पनि सरकारी निकाय मौनजस्तै छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित पिट स्ट्रिट र नेपालका विभिन्न स्थानमा कार्यालय रहेको देखाएर शैक्षिक परामर्श सेवाका लागि अनुमति लिएको बाबा एजुकेशन कन्सल्टेन्सीले भिजिटर भिसामा अष्ट्रेलिया मानव तस्करी गरिरहेको छ । तर, स्पष्ट ऐन अभावमा सरकारी निकायले कारबाही गर्नसकेका छैनन् ।

काठमाडौंको न्युरोड कम्प्लेक्समा कार्यालय रहेको यो कम्पनीले खुल्लमखुल्ला भिजिट भिसामा मानव तस्करी गरिरहँदा समेत सरोकारवाला निकाय मौन छन् ।

प्राप्त जानकारीअनुसार यो कम्पनीले सीता कुमारी अधिकारी सापकोटालाई गत जुन २९ मा भिजिटर भिसामा अष्ट्रेलियाको भिसा ग्यारेन्टी भएको उल्लेख छ । जब कि भिजिट भिसाको कारोबार गर्ने अनुमति यो कम्पनीलाई छैन । जुन २९ मै यो कम्पनीले सार्वजनिक गरेको अर्को सूचनाअनुसार सुशीला कुमारी श्रेष्ठले पनि भिजिटर भिसा प्राप्त गरेकी छिन् । उनलाई पनि यही कम्पनीले भिजिटर भिसा उपलब्ध गराएको हो ।

जुन २४ मा नेत्र कुमारी श्रेष्ठलाई पनि भिजिट भिसा दिलाइएको छ । त्यस्तै सोही दिन भोजनारायण श्रेष्ठ, शमशेर लाल राजवंशी, गीत सागर छन्त्याल, हिरा कुमारी छन्त्याल, पदम बहादुर छन्त्याल र मिरा शर्मालाई पनि जुन २४ मा नै भिजिटर भिसा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

शिक्षा मन्त्रालय बेखबर !
कन्सल्टेन्सीले गर्ने हरेक गतिविधिको निगरानी गर्ने निकाय हो शिक्षा मन्त्रालय । तर, कन्सल्टेन्सीहरुले एकातिर विद्यार्थीलाई शैक्षिक परामर्शदाताको रुपमा विभिन्न मुलुक पठाइरहेका छन् भने अर्कोतिर वर्किङ भिसामा समेत मानिसहरुलाई विदेश पठाइरहेका छन् । जब कि वर्किङ भिसाको काम गर्ने अधिकार म्यानपावर व्यवसायीलाई मात्रै छ ।

त्यतिमात्रै होइन ट्राभल एजेन्सीले गर्ने भिजिट भिसाको काम समेत कन्सल्टेन्सीले नै गरिरहेका छन् । तर, यस्तो धन्दा गर्नेहरुलाई कुनै निकायले कारबाही गर्नसकेको छैन । वैदेशिक रोजगार विभागमा कार्यरत नेपाल प्रहरीका डीएसपी नवराज मल्ल स्पष्ट ऐन नहुँदा कन्सल्टेन्सीमाथि कारबाही हुन नसकेको बताउँछन् । ‘कतिपयले गलत गरिरहेका छन् । अनुमति शिक्षा मन्त्रालयबाट लिएका छन् । काम भिजिट भिसामा मान्छे पठाउनेदेखि वर्किङको काम समेत गरिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा शिक्षा मन्त्रालयको अनुमति विना प्रहरीले कारबाही गर्ने कुरा भएन । वैदेशिक रोजगार विभागले त म्यानपावरलाई मात्रै हेर्ने हो । म्यानपावरको काम गर्ने कन्सल्टेन्सीलाई कसरी हेर्न मिल्छ र ?’

भारतीय कलाकार सहभागी कार्यक्रममा समेत मानव तस्करी !
अष्ट्रेलियाको सिड्नीमा एक टेलिभिजन, आरकेएस अष्ट्रेलिया र बाबा एजुकेशन कन्सल्टेन्सीले शुक्रबार १५ जुलाईमा एक कार्यक्रम गरेका थिए । सोही कार्यक्रमका लागि भनेर बाबा एजुकेशनले ५० जनाको भिसा दिन माग गरेको थिया । तर, दिल्लीस्थित अष्ट्रेलियन हाई कमिसनले भिसा दिएन । त्यसपछि केहीलाई भने विभिन्न फर्जी कागजात बनाएर भिजिटर भिसा लगाएको स्रोत जनाउँछ ।
भारतीय कलाकार गोविन्दालाई प्रमुख ‘पात्र’ देखाएर आयोजना गरिएको ‘डान्स विथ बलिउड स्टार गोविन्दा’मा विभिन्न व्यक्तिलाई फर्जी कागजात बनाएर तस्करी गरिएको स्रोतले बताएको छ ।

पत्नी सुनिता आउजासहित अष्ट्रेलिया पुगेका गोविन्दाले आफ्नो शो देखाएका थिए । सोही कार्यक्रमको नाममा बाबाले मानव तस्करी गरेको स्रोतले जनाएको छ । माथि उल्लिखित नौ जना नै सोही कार्यक्रममा प्रतिव्यक्ति २५ लाख रुपैयाँ तिरेर अष्ट्रेलिया पु¥याइएको दाबी छ ।

के कन्सल्टेन्सीले भिजिटर भिसा लगाउन पाउँछ ?
नेपालमा विद्यमान ऐन तथा कानुनअनुसार कन्सल्टेन्सीले भिजिटर भिसाको काम गर्न पाउँदैन । बागमती प्रदेशले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७५ को परिच्छेद एक (च) मा शैक्षिक परामर्श सेवा भन्नाले स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विषय, तह र शिक्षण संस्था छनोट गर्ने, शिक्षण संस्थामा प्रवेशको लागि तयारी गर्ने वा परामर्श प्रदान गर्ने सेवा सम्झिनुपर्छ’ भन्ने उल्लेख छ ।

तर, शैक्षिक परामर्शदाताको रुपमा अनुमति लिएको यो कम्पनीले कार्यक्रममा सहभागी गराउँछु भन्दै मानव तस्करी गरिरहेको छ । यसरी निर्देशिका उल्लंघन गरे नेपाल सरकारले समेत कारबाही गर्न सक्छ ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्दैशिका, २०७५ को दफा ६ (ग) मा संस्थानले बदनियतपूर्ण तवरबाट सेवा प्रदान गरेको प्रमाणित भएमा शैक्षिक परामर्श सेवादाताको अनुमति रद्द हुने उल्लेख छ । त्यसैगरी यस निर्देशिकाको दफा ७ को (ग) मा संस्थाले आफूलाई प्रदान गरिएको अधिकारको क्षेत्रभित्र रही कार्य गर्नुपर्ने भनिएको छ । यस्तो व्यवस्थाका बाबजुद यो कन्सल्टेन्सीले मानव तस्करी गरिरहेको छ ।

को–को हुन् मालिक ?
अष्ट्रेलियामा रहेको आरकेएस अष्ट्रेलिया र बाबा एजुकेशनका मालिक हुन् राजेन्द्र कुमार शर्मा र रविन्द्र कुमार शर्मा । उनीहरुले मानव तस्करीदेखि अष्ट्रेलियामा हुण्डीसम्मको कारोबार गर्छन् । तर, शर्मा दाजुभाइलाई कुनै सरकारी निकायले कारबाही गरेको छैन । समाचार सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि उनीहरुले खुल्लमखुल्ला धम्की दिनथालेका छन्। मानव तस्करीमा संलग्न रविन्द्र अष्ट्रेलियास्थित नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x