Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसामसुङको आइफोन भनेर हेप्नी ?

सामसुङको आइफोन भनेर हेप्नी ?


सामसुङ कम्पनीको आइफोन हुँदैन । सामसुङ कम्पनीको सामसुङ फोन नै हुन्छ र आइफोनचाहिँ एप्पल कम्पनीको हुन्छ । मोबाइल सेटहरूका बारेमा सामान्य जानकारी भएका व्यक्तिलाई पनि यो कुरा थाहा हुन्छ भने सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिलाई थाहा नहुने कुरै भएन ।

केही दिनअघिसम्म सूचना प्रविधि मन्त्री थिए, गोकुल बाँस्कोटा । उनले मन्त्री भएपछि प्रधानमन्त्रीको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाए । २०७५ साल वैशाख ७ गते उनले प्रधानमन्त्रीको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए । त्यतिबेला उनी सूचना प्रविधि राज्यमन्त्री थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र भएकाले पछि उनी सूचना प्रविधि मन्त्रीमै बढुवा भए । यति मात्र होइन कि उनी प्रधानमन्त्री ओलीका कति विश्वासपात्र थिए भन्ने कुरा उनी मन्त्री भएपछि पनि प्रधानमन्त्री ओलीको बालकोटको निजी निवासमा बस्ने सुविधा पाउनुले स्पष्ट पार्दछ । प्रधानमन्त्री ओलीले आफ्नो विश्वासपात्र भएकै कारण बाँस्कोटालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएर सरकारको प्रवक्ता तोकेका थिए ।

सूचना प्रविधि मन्त्री बाँस्कोटाले बुझाएको अन्य सम्पत्ति विवरणको दोस्रो बुँदामा साथीभाइबाट उपहार पाएको आइफोन (सामसुङ) भनेका छन् । अर्थात् उनीसँग सामसुङ कम्पनीको एउटा आइफोन रहेछ । जुन सम्पत्ति विवरणमा भरेका छन् । कुरो नयाँ सूचना प्रविधिको हो, त्यसमा पनि उनी आफैँ सूचना प्रविधि मन्त्री छन् । त्यसमा अब कसैले प्रश्न उठाउने कुरै भएन । उनका विरुद्ध प्रश्न उठाउनु पनि सहज थिएन । डिप्रेसनको बिरामीले जस्तै गरेर उनी पररर अन्टसन्ट पड्किहाल्ने उनको बानी भएकाले पनि कसैले मुख खोल्ने आँट नै गरेनन् । प्रश्न उठाइहाले पनि उनी पड्किहाल्थे, सरकारलाई हेप्नी ? भनेर । फेरि उनी आफैँ सूचना मन्त्री भएकाले सूचना प्रविधिकै बारेमा प्रश्न गरिहाल्दा गल्ती जो भइहाल्छ कि भन्ने मनोभावले धेरैलाई सताएको थियो ।

कतै उनले भनेजस्तै प्रविधि विकास भैसकेको हो कि भन्ने प्रश्न पनि थियो । तर, सूचना प्रविधिका विद्यार्थीहरूले चाहिँ सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सामसुङको आइफोन एक थान छ भनेर सम्पत्ति विवरण दिएपछि नै राम्ररी चिनेका थिए । अनुमान त अरुले पनि पहिलेदेखि नै लगाउथे तर उनको यो विज्ञता बारेमा धेरै भ्रममै थिए । अहिले उनी सूचना प्रविधिकै शिकार भए, तैपनि उनले त्यही प्रविधि चलाएर सत्ता शिखरको संरक्षणमा कमिशनतन्त्रका साम्राज्यको संयोजनबाट कालोधनको गोकुलधाम नै बनाएको तथ्य त्यही सूचना प्रविधिले बाहिर ल्याएको छ । यो बाहिर नआउँदासम्म नाङ्लो ठटाएर हात्ती तर्साएजस्तै गरेरै भए पनि सबैलाई थर्काएर हायल–कायल पारेकै थिए । मात्रै यति भन्न बाँकी थियो कि सामसुङको आइफोन भनेर हेप्नी ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x