Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली कीर्ते नागरिकता बनाएर काठमाडौंमा मिठाइ पसलको नाममा अवैध धन्दा

नेपाली कीर्ते नागरिकता बनाएर काठमाडौंमा मिठाइ पसलको नाममा अवैध धन्दा


काठमाडौं । भारतीय नागरिकले नेपालमा विवरण छलेर ‘कीर्ते नागरिकता’ बनाई गैरकानुनी रूपमा करोडौँ रकमको चलखेल गरिरहेका छन् । जसमध्ये एक हुन् भरतप्रसाद गुप्ता ।

उत्तर प्रदेश बलिया जिल्ला, सिअर ब्लकस्थित इब्राहिमपट्टी गाउँका स्थायी बासिन्दा गुप्ताले कीर्ते विवरण पेश गरी २०६९ सालमा जन्मसिद्ध आधारमा नागरिकता लिएका थिए । नेपाली नागरिकता लिएपछि उनले मिठाइ पसल सञ्चालन गर्दै आफ्नो व्यवसाय अगाडि बढाएका थिए । देखिने मिठाइ पसल भए पनि उनी विभिन्न लागूऔषध, सुन तथा जग्गाको कारोबार गर्दै करोडौँको मालिक भएर अवैध धन्दा सञ्चालन गरिरहेका छन् ।

कसरी लिए नागरिकता ? भरत प्रसाद गुप्ताले २०६९ चैत २३ गते सिरहाबाट जन्मसिद्ध नागरिकता लिएका थिए । नागरिकतामा टोली प्रमुख दिलिप प्रसाद लामिछानेको हस्ताक्षर भई स्थायी ठेगाना सिरहाको रामनगर मिर्चैया–२ बाट तत्कालीन समयमा नागरिकता लिएका थिए । बाबु शिवशंकर गुप्ताको तीन छोरामध्ये कान्छो छोरा भरतले कीर्ते विवरण बनाएर सिरहाबाट जन्मसिद्ध नागरिकता लिएका हुन् ।

उनको न सिरहामा जन्म भएको हो, न उनको कुनै जग्गा जमिन वा घर नै सिरहाको रामनगर मिर्चैयामा छ । मिर्चैयाका मेयर श्रवणकुमार यादवले गुप्ताको साविक रामनगर मिर्चैया र अहिले परिवर्तित वडामा कुनै जग्गा जमिन वा स्थायी रूपमा बसेको नपाइएको जानकारी दिए ।

तर भरतले नागरिकता टोली गएको मौका छोपी कीर्ते विवरण बनाएर नागरिकता नम्बर– १५३०–९०/१०४ लिइ खुल्लमखुल्ला विभिन्न किसिमको अवैध धन्दा चलाई करोडौँ रकम भारत लगिरहेका हुन् ।

तर उनी २०५२ सालतिर भारतबाट खुर्सानी, आलु व्यापार गर्ने व्यापारीको सहयोगीको रूपमा नेपाल आएका थिए । २०४६ सालभन्दा अघिदेखि नेपालमा स्थायी बसोबास गरिरहेको विदेशीलाई जन्मसिद्ध नागरिकता दिने २०६३ को नागरिकता ऐनमा उल्लेख छ । तर उनले मोटो रकम खर्च गरेर सिरहाकै जिवछ साहको सहयोगमा नेपाली नागरिकता लिएको उनका आफन्तहरूको भनाइ छ । यसबारेमा भरतप्रसाद गुप्तालाइ सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

परिवारकै नेपाली नागरिकता : भारतीय नागरिक शिवशंकर गुप्ताका तीन छोरामध्ये जेठो मोहन प्रसाद गुप्ता, माइलो हरिनारायण गुप्ता र कान्छो छोरा भरत प्रसाद गुप्ता हुन् । जब भरतले जन्मसिद्ध नागरिकता लिए तब उनले भारतीय नागरिक रहेकी श्रीमती ज्ञानमति गुप्ताको समेत नागरिकता बनाएका छन् । जन्मसिद्ध नागरिकको छोराछोरीको नागरिकता बन्न कठिन हुने भए पनि भरतले पैसा खुवाएर छोरा राहुल गुप्ता, रोहित गुप्ता र छोरी माधुरी गुप्ताको नागरिकता बनाइदिएका छन् ।

जेठो दाइ मोहनप्रसादसँगै नेपाल आएका भरतले ठेलामा समोसा बेच्नेदेखि, अरूको पसलमा काम समेत गरे । जुन बेला भोटेबहालमा एक नेपालीलाई सामान्य विवादमा मोहन प्रसाद र भरत दुई दाजुभाइ मिलेर मरणासन्न हुने गरी कुटपिट गरेपछि ज्यान मार्ने उद्योगमा मुद्दा समेत चलेको थियो ।

मोहनप्रसाद र हरिनारायणले नेपाली नागरिकता लिएनन् तर भरतले कीर्ते विवरण बनाएर नागरिकता लिए । हरिनारायण इब्राहिमपट्टीमै राधेश्याम स्विट्स मिठाइ पसल चलाएर बसेका छन् भने मोहनको मृत्यु भइसकेको छ । जब २०६९ अघिसम्म नागरिकता थिएन, भरतले अरूको नामबाट वैध/अवैध दुवै काम गरे ।

देखाउने मिठाइ पसल काम अवैध धन्दा
बानेश्वर शंखमूलमा मिठाइ पसल सञ्चालन गरेका गुप्ताले १० वर्षमा करिब ८० करोडभन्दा बढी सम्पत्ति कसरी कमाए ? यो सम्पत्ति कमाउँदै गर्दा राज्यलाई कति कर तिरे ? यो प्रश्न गम्भीर छ । धेरै भारतीय नागरिकले भरतको झैँ कीर्ते विवरण बनाई नागरिकता लिएर मिठाइ पसलको देखाउने तर अवैध काम गरेर जग्गामा लगानी गरी अर्बौैँ रकम भारत पठाइरहेको तथ्य समेत खुलेको छ ।

भरतको शंखमूल मूल सडकमा अन्डरग्राउन्डसहित साढे आठ तला घर छ । उनको श्रीमती ज्ञानमती गुप्ताको नाममा २०७७ मा काठमाडौंको बाँनियाटारमा साढे पाँच आना जग्गा, बूढानीलकण्ठमा साढे २ तले घर, बनेपामा साढे २ रोपनी जग्गा, कीर्तिपुर सोखेलमा २६ आना जग्गादेखि विभिन्न बैंकमा करोडौँ रकम बचत छ । यो नागरिकता अनि सम्पत्तिको वैध स्रोत के हो ? राज्य बेखबर रहेको छ ।

संरक्षण साहको : नागरिकता बनाउने बेलादेखि सहयोग गरेका केही व्यक्ति अहिले उच्च पद र ओहोदामा छन् । तीमध्ये एक हुन् मधेश आयोगका सदस्य जीवछ साह । कुनै बेला गाविस अध्यक्ष भएका साह राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव समेत भएर काम गरे । राष्ट्रपति भण्डारीको नाम बेचेर विभिन्न अवैध काम गर्दै आएका साहको संरक्षणमा भरतप्रसाद गुप्ताले आफ्नो कीर्ते र अवैध काम खुल्लमखुल्ला गरिरहेको बानेश्वरकै एक मिठाइ पसलेले जानकारी दिए ।

साह र गुप्ताको लगानीमा विभिन्न जग्गा समेत खरिद गरेको ती मिठाइ पसलेको भनाइ छ  । राष्ट्रपति भण्डारीको निगाहमा मधेश आयोगका सदस्य बनेका साह मधेश र मधेशीको हितको लागि भन्दा अवैध गतिविधिमा संलग्न भारतीय नागरिकलाई जोगाउन सक्रिय देखिएका छन् ।

भारतीय नागरिकलाई नेपाली नागरिक बनाउन सहयोग गरेको विषयमा शाहलाई प्रश्न गर्दा उनले यसमा आफ्नो संलग्नता नभएको र आफूले नागरिकता लिएको भनिएको भरत प्रसाद गुप्तालाई समेत नचिनेको बताए । उनले आर्थिक दैनिकसँग यस विषयमा आफूलाई किन जोडेको भनेर प्रतिप्रश्न गर्दै भने, ‘म पनि पत्रकारिता गरेको व्यक्ति हो । यसरी सिधै फोन गरेर आफूलाई थाहा नै नभएको विषयमा जोड्न पाइन्छ मलाई फोन नगर्नुस् ।’ त्यसो त मधेश आयोगका साह विभिन्न शीर्ष नेता तथा सुरक्षाकर्मीहरूसँग फोटो खिचेर सबै मिलाउने भन्दै बार्गेनिङ गर्ने गरेको सिरहाकै माओवादी नेताहरू समेत बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x