Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति


काठमाडौं । १७औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंक आज देशको एक अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित हुन सफल भएको जानकारी बैंकले दिएको छ । हाल १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको बैंकले आव २०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना सेयरधनीहरूलाई २५ दशमलव ७१ प्रतिसेयर आम्दानी दिन पनि सफल भएको जनाएको छ ।

बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पु-याउँदै आएको छ । बैंकले आव २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु-याएको जानकारी दिएको छ । बैंकले अवलम्बन गरेको ग्राहकमैत्री अवधारणाको कारण, सिद्धार्थ बैंक आज ग्राहकहरूको प्रमुख रोजाइको बैंक बन्न सफल भएको छ । ग्राहकहरूको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बाबजुद बैंकले आव २०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रह्यो । त्यस्तै आव २०७८/७९ मा दुई लाख ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढीग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यसैगरी बैंकले आफ्नो ग्राहकहरूमध्ये छ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई मोबाइल बैंकिङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकहरूलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकहरूलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ । आफ्नो लगानीलाई उत्पादनमूलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी देशको आर्थिक विकासको लागि उद्यमशीलता अभिवृद्धि गर्नुपर्नेमा बैंकको सदैव जोड रहिआएकोले मूलभूतरूपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोहीअनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

एउटा सबल र सफल बैंक हुनका लागि प्रविधिमैत्री सेवाको विस्तार र सबलीकरण नगरी सम्भव छैन भन्ने कुरालाई हृदयङ्गम गरी आफ्ना सेवा सञ्चालनमा डिजिटल माध्यमलाई बैंकले अधिकतम महत्व दिँदै आएको छ । यस बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरू जस्तैः अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ । यसका साथसाथै बैंकिङ सेवालाई सुलभ तरिकाले ग्राहकहरूमाझ पु-याउनलाई मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकहरूको सन्तुष्टिलाई केन्द्रमा राखी व्यवसाय सञ्चालन गरिरहेको यस बैंकले ग्राहकहरूको समस्याको छिटो छरितो ढंगले समाधान गर्नका लागि ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयर पनि सञ्चालन गर्दै आएको छ । ग्राहक सेवा केन्द्रमा ग्राहकहरूले फोन, इमेल, हेल्पडेक्स, भाइबरजस्ता डिजिटल माध्यमबाट सम्पर्क गरी आफ्ना समस्या र जिज्ञासा राख्नुका साथसाथै सल्लाह, सुझाव एवं गुनासाहरू पनि व्यक्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले इन्टरनेसनल फाइनान्सको अपरेसन (आईएफसी)द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ उपाधि प्राप्त गर्न सफल भएको छ । त्यसैगरी, बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ समेत प्रदान गरिएको छ । सिद्धार्थ बैंक आफ्नो वित्तीय सबलीकरणका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकता दिँदै आएको छ । बैंकले प्रत्येक वर्ष खुद मुनाफाबाट संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहका लागि छुट्याइने एक प्रतिशत रकम स्वास्थ्य, शिक्षा, वातावरण तथा अन्य विभिन्न क्षेत्रहरूको दिगो विकासका लागि प्रयोग गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ९० वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय १७ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x