Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारद्रुतमार्ग जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

द्रुतमार्ग जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । रक्षामन्त्रीको समेत कार्यभार समेत सम्हालेका प्रधानमन्त्री देउवालले मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्नुपर्ने भन्दै उनले चालूू आर्थिक वर्षमा थप प्रगति हासिल गर्नेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिए । यसैगरी उनले चालू आवमा हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने गरी अघि बढ्नेमा विश्वस्त रहेको बताए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नेपाली सेनाले वचन दिएअनुसारको काम हुन नसकेको स्मरण गराउँदै दु्रतमार्ग निर्माणसम्पन्न गर्नसके इन्धनमा मात्रै अर्बाैँ बचत हुने भएकाले छिटो निर्माण सक्नुपर्ने आवश्यकता औँल्याए । खोकनाको जग्गा प्राप्तिसम्बन्धी विवाद समाधानका लागि आफूले पनि पहल गरिरहेको उनले जानकारी दिए । यस्तै उनले हुम्लाको सडक महत्वपूर्ण रहेकाले उक्त सडक निर्माणमा पनि ध्यान दिन आग्रह गरे ।

बैठकमा मुख्यसचिव शंकरदास वैरागीले महत्वपूर्ण आयोजना ढिला नहुने गरी काम गर्नुपर्नेमा जोड दिए । द्रुतमार्ग ठूलो महत्वको परियोजना भएकाले यसबाट मुलुकले धेरै ठूलो आर्थिक लाभ लिन सकिनेतर्फ ध्यानाकर्षण गराउँदै उनले संयन्त्र बनाएरै भए पनि यस्ता योजना सम्पन्न गर्नुपर्ने बताए । खोकनाका विषयमा भने राजनीतिकरूपमा समेत छलफलको आवश्यकता रहेको उनको भनाइ थियो । बैठकमा रक्षासचिव किरणराज शर्माले मन्त्रालय र मातहतको एकीकृतरूपमा विश्लेषण गर्दा पुँजीगततर्फ ६१ दशमलव ९७ र भौतिक प्रगति ६५ दशमलव ०५ प्रतिशत हासिल भएको जानकारी दिए । कतिपय कार्यक्रम प्रगति उत्साहजनक भएको भए पनि सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण एवं बंकरदेखि ब्यारेक कार्यक्रममा अपेक्षित प्रगति हासिल गर्न चुनौती रहेकाले समग्रमा प्रगति कम देखिएको उनको भनाइ थियो ।

कार्यक्रम कार्यान्वयनका सन्दर्भमा काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजनको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी विवाद समाधान हुन नसकेको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यक्रम बहुवर्षीय आयोजनाका रूपमा स्वीकृत हुन नसकेको, विदेशी मुद्राको सञ्चितिमा परेको चापका कारण हतियार एवं उपकरणका लागि विनियोजित रकम खर्च हुन नसकेकाले अपेक्षित प्रगति हासिल नभएको उनले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x