विदेशमा काम गर्नेले मात्र पठाए ८४ खर्ब ६६ अर्ब
विप्रेषण गुणस्तरीय छैन किनकि हामीले कच्चा जनशक्ति विदेश पठाएका छौं : अर्थविद्
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २० देखि २५ प्रतिशतको हिस्सा ओगट्दै आएको विप्रेषणको आप्रवाह (विदेशमा काम गर्ने नेपाली युवाले पठाउने रकम) आकर्षक छ । पछिल्लो १४ वर्षमा (आव २०६५/०६६ देखि २०७८/०७९ सम्म) ८४ खर्ब ६६ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको छ ।
सरकारी तथ्यांक हेर्ने हो भने पछिल्ला वर्षहरुमा विप्रेषण आप्रवाह बढ्दै गएको पाइन्छ । पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै ४५ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रेको छ । गत आवमा नौ खर्ब ८६ अर्ब रुपैयाँ, आव २०७७/०७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६/०७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ, आव २०७५/०७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ र आव २०७४/०७५ मा सात खर्ब ५५ अर्ब रुपैयाँ विप्रेषण मुलुकमा भित्रिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
विदेशी मुद्राको भरपर्दो आधार भनेको विप्रेषण छ । विदेशी लगानी, पर्यटन क्षेत्र, निर्यात व्यापार राम्रो नभएको अवस्थामा विदेशी मुद्रा भित्रिने माध्यम भनेको विप्रेषण हो । तर वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको विदेशी मुद्रा ज्यादै न्यून भएको तथा यसलाई मुलुकको विकासको रुपमा हेर्न नमिल्ने जानकारहरुको भनाइ छ ।
विप्रेषण आप्रवाह बढ्दै गएको संख्यालाई राम्रोसँग हेर्ने हो भने यो राम्रो नतिजा नभएको उनीहरुले बताए । विदेश गएको युवाहरु र विप्रेषण आप्रवाहको स्थितिलाई हेर्ने हो भने एउटा युवाको हकमा करिब ४० देखि ४२ हजार रुपैयाँ मासिक रुपमा पठाएको पाइने हुँदा यसलाई धैरे रकम मान्न नसकिने अर्थविद् डा.चन्द्रमणि अधिकारीले आर्थिक दैनिकलाई बताए ।
‘हाम्रा विप्रेषण गुणस्तरीय छैन किनकि हामीले कच्चा जनशक्ति विदेश पठाएका छौँ’, अर्थविद् अधिकारीले आर्थिक दैनिकसँग भने, ‘यदि हामीले अहिलै वैदेशिक रोजगारीमा पठाएकामध्ये २० प्रतिशत दक्ष युवाहरु पठाएमा सो मात्रामा विप्रेषण मुलुकमा भित्रिन्छ । विप्रेषण भित्र्याउनेभन्दा पनि आफ्नो आन्तरिक उत्पादनमा युवाहरुलाई लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ जसले मुलुकको विकासलाई सहयोग पुग्छ ।’
यस्तै, १४ वर्षको अवधिमा ५० लाख आठ सय ३३ जना (पुनः श्रम स्वीकृतिबाहेक) वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमा ४७ लाख १४ हजार पाँच सय ९१ जना पुरुष र दुई लाख ८६ हजार दुई सय ४२ जना महिला रहेका श्रम मन्त्रालयले जनाएको छ ।
गत आवमा छ लाख ३० हजार ९७ जना, आव २०७७/०७८ मा ७२ हजार ८१ जना, आव २०७६/०७७ मा एक लाख ९० हजार चार सय ५३ जना, आव २०७५/०७६ मा दुई लाख ३६ हजार दुई सय आठ जना र आव २०७४/०७५ मा तीन लाख ५४ हजार ८२ जना विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् । श्रम मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताए । विदेशबाट फर्केका युवाहरुलाई उद्यमशीलतामा जोडी मुलुकमै रोजगारीको व्यवस्थापन गर्नसक्ने वातावरण बनाउनु आवश्यक रहेको मन्त्री कुँवरको भनाइ छ । ‘विदेशबाट युवाहरुले सीप, पुँजी र प्रविधि लिएर आएका हुन्छन् त्यसलाई उद्यमशीलतामा जोड्नु अहिलेको आवश्यकता हो’, उनले भने, ‘विदेशबाट फर्केका युवाहरुलाई उद्यमशीलतासँग जोड्दा उनीहरु स्वयं स्वरोजगार हुनुको साथै अन्यलाई रोजगारी दिने सक्नेछन् । जसले गर्दा मुलुकको अर्थतन्त्र बलियो हुनेछ ।’
वैदेशिक रोजगारी बाध्यताको रोजगारी भएको हुँदा यसको विकल्प खोज्नु आवश्यक रहेको मन्त्री कुँवरले बताए । विदेश जानेभन्दा हामीले श्रम बजारमा आउने पाँच लाख युवा जनशक्तिलाई आन्तरिक रोजगारी दिनेतर्फ अघि बढ्नु जरुरी रहेको उनले बताए । यसैबीच सरकारले विदेशबाट फर्केका युवाहरुको पुँजी, सीप र प्रविधिको प्रयोगका लागि समेत वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन गर्नलागेकोे छ । जसले विदेशबाट फर्केका युवाहरुले आन्तरिक रोजगारीमा प्रवर्द्धन गर्न समेत मद्दत पु-याउने अपेक्षा लिइएको छ ।
श्रममन्त्री शेरबहादुर कुँवरले विदेशबाट फर्केका युवाहरुलाई उद्यमशीलता कार्यक्रममा जोड्न आवश्यक रहेको बताए । ‘सीप, पुँजी र प्रविधिको ज्ञान लिएर आएका युवाहरुलाई उद्यमशीलतामा जोडेमा आन्तरिक रोजगारीमा समेत वृद्धि हुनेछ’, मन्त्री कुँवरले भने, ‘आन्तरिक रोजगारीमा वृद्धि हुनु भनेको मुलुकको अर्थतन्त्र सुदृढीकरणतर्फ लाग्नु हो । नेपाली मुद्रा विदेश जानबाट समेत वञ्चित हुन मद्दत पुग्छ ।’
विप्रेषण नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । विदेश गएका युवाहरुले आफ्नो र आफ्नो परिवारका लागि आवश्यक घर, खाद्यान्न, लत्ता कपडा व्यवस्थित बनाउने काम विप्रेषणमार्फत गरेको हुँदा यसको प्रभावकारिताको विषयमा संघ, प्रदेश र स्थानीय तहले चासो दिनुपर्ने सविच एकनारायण अर्यालले बताए । ‘वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनु अहिलेको आवश्यकता छ’, उनले भने, ‘यसका लागि सरकारले उनीहरुलाई आर्थिक सहुलियत, व्यवसाय गर्ने वातावरण, लगानी निर्धारणका क्षेत्रहरु पहिचान गरिदिएर सहजीकरण गर्नु आवश्यकता छ ।’
यस्तै, अर्थविद् अधिकारीले पनि कच्चा श्रमशक्तिलाई विदेश पठाउनेभन्दा मुलुकमै रोकेर उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने बताए । ‘कच्चा जनशक्तिबाट विप्रेषण आप्रवाह कमजोर छ त्यसैले उनीहरुलाई विदेश पठाउनेभन्दा आन्तरिक उत्पादनशील क्षेत्रमा लगाएर वस्तुको उत्पादन गर्न लगाउनुपर्छ’, उनले भने, ‘यसले वस्तुको उत्पादन हुन्छ र निर्यात व्यापारमा समेत सहयोग पु-याउँछ जुन विकास दिगो समेत हुन्छ ।’
१४ वर्षअघिको विप्रेषण आप्रवाह र अहिलेको विप्रेषण आप्रवाह आकारमा ठूलो देखिए पनि रकमबराबर जस्तै रहेको छ । हिजो र आजको मुद्रास्फीति, मुद्रा सञ्चिति, मुद्राको मूल्यांकन विश्वबजार र नेपालको बजारमा हेर्ने हो र यसको वृद्धिदरलाई हेर्ने हो भने विप्रेषणको आकार बढेको तर गुण नबढेको वैदेशिक रोजगार बोर्डका अधिकारीहरुको भनाइ छ ।
यस्तै, कोभिड १९ का कारण वैदेशिक रोजगार अन्योलमा पर्दा विप्रेषणमा पर्ने असर समेत अन्योलमा रहेको थियो । तर कोभिडका कारण बन्दाबन्दी हुँदा बैंकिङ क्षेत्रबाट विप्रेषण आउँदा वृद्धि भएको थियो । तर, वातावरण सहज बनेपछि भने पुनः अवैध बाटो हुँदै (हुन्डी) विप्रेषण आप्रवाह हुँदा सरकारी तथ्यांकमा कमी देखिने सम्भावना छ । करिब दुई दशकदेखि मुलुकको अर्थतन्त्रलाई विप्रेषणले टेको दिँदै आएको छ । विप्रेषण लामो समयका लागि राम्रो नहुने स्वयं सरकार र निजी क्षेत्रले सार्वजनिक रुपमा बताउँदै आए पनि त्यसको विकल्प भने दुवै पक्षले खोज्न सकेको पाइँदैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया