Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वाधार क्षेत्रमा लगानी बढाउन पूर्वाधार सम्मेलनको आयोजना

पूर्वाधार क्षेत्रमा लगानी बढाउन पूर्वाधार सम्मेलनको आयोजना


काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउन नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलनको आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र परिसंघको संयुक्त आयोजनामा भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन (एनआईएस) हुन लागेको हो । सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिने परिसंघको विश्वास छ । उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको र यही अवधारणालाई आत्मसात् गर्दै परिसंघले चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । परिसंघका अनुसार यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीनवटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने; पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मदत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ ।

यस पटकको सम्मेलनको विषयवस्तु विकासका लागि पूर्वाधार रहेको छ । परिसंघका अनुसार सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धि २ दशमलव ३७ प्रतिशतले संकुचित भयो । आर्थिक गतिविधिहरू विश्वव्यापीरूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भीर अवरोधको सामना गर्नुपरेको थियो । नेपालले आर्थिक वर्ष २०२२/२३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी बाध्यकारी रहेको परिसंघको भनाइ छ । एनआईएस २०२२ ले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम सर्त हो भन्ने धारणालाई सुदृढ पार्न खोजेको परिसंघले जनाएको छ ।

विश्वव्यापीरूपमा भइरहेको पुँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा एनआईएस २०२२ ले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रीकृत गरेर संवादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्ने परिसंघको भनाइ छ । सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघको विश्वास छ । सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहनरूपमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा गर्नेछन् भने भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलगायत अथिति रहेका छन् ।

यसैगरी सम्मेलनको विभिन्न सत्रमा पूर्वप्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एसियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकह्रूको प्रस्तुति हुनेछ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट छ सयभन्दा बढीको सहभागिता हुने परिसंघको अपेक्षा छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x