Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन वर्षभित्रमा देशभरका सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारको काम सकिने

तीन वर्षभित्रमा देशभरका सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारको काम सकिने


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्रमा देशभरका विद्यालयका भौतिक पूर्वाधारको काम सकिने बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै उनले हाल १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेको समेत जानकारी दिए ।

विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उनले विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्नेमा जोड दिए । सार्वजनिक विद्यालय सुधारको लागि १० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरेको उल्लेख गर्दै उनले सार्र्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताए । यस्तै उनले दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयहरूमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने आश्वासन समेत दिए । उच्चशिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रियागत वर्षदेखि सुरुवात भएको बताउँदै यसवर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

‘एक सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेका छ,’ उनले भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौँ ।’ मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकहरूको भएको बताउँदै उनीहरूलाई गाली गरेर नभई अधिकार, माया र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक ‘होम टु, भिजिट’को प्रक्रिया थाल्नुपर्र्नेे उनको भनाइ छ । ‘शिक्षकहरूलाई संस्थागत विद्यालयले भन्दा निजीले सेवा सुविधा कम दिएका छन्’ उनले भने, ‘कम सेवा सुविधा भए पनि शिक्षकको मिहिनेतले विद्यार्थीको आकर्षण निजीमा भएको देखिन्छ ।’

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका पनि लागिरहेको बताइन् । सार्वजनिक विद्यालयको गुणस्तरमा थप सुधार गर्ने महानगरपालिकाको योजना रहेको बताउँदै उनले विद्यालय सुधारका लागि महानगरले सहयोग गर्न तत्पर रहेको उल्लेख गरिन् । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताए । उनले विगत कमजोरीलाई सच्चाउँदै विद्यालयको नक्सांकन, दरबन्दी मिलानलगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव दिए ।

ज्ञानोदय माविको नवर्निमित ३५ कोठे विद्यालयको भवन तीन करोड ५० लाख लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रअ नातिकाजी महर्जनका अनुसार काठमाडौं महानगरपालिकाको एक करोड, महायज्ञबाट ६७ लाख, बागमती प्रदेशबाट ९० लाख, जिल्ला शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद विकास कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय इकाइबाट २१ लाख सहयोग प्राप्त भएको थियो । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा साइन्स, म्यानेजमेन्ट, ल, र सिभिल इन्जिनियरिङको पढाइ हुनेगरेको छ । हाल विद्यालयमा चार हजार दुई सय विद्यार्थी अध्ययनरत रहको प्रअ महर्जनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x