Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमैदा उद्योगीद्वारा एकतर्फीरूपमा मूल्यवृद्धि

मैदा उद्योगीद्वारा एकतर्फीरूपमा मूल्यवृद्धि


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालन हुँदै आएका मैदा उद्योगहरूले एकतर्फीरूपमा मैदाको मूल्यवृद्धि गरेका छन् । मैदाको मूल्यवृद्धिपछि बिस्कुट, पाउरोटी, चाउचाउलगायतका उद्योगहरू नराम्रोसँग प्रभावित भएका छन् ।

भारत सरकारले भारतमा उत्पादन हुने गहुँको निर्यातमा प्रतिबन्ध लगाएर गहुँको आयात हुन नसकेको बहाना बनाएर करिडोरमा सञ्चालन हुँदै आएका मैदा उद्योगहरूले एकतर्फी मूल्यवृद्धि गरेका हुन् । मूल्यवृद्धिपश्चात् बिस्कुट, पाउरोटी, चाउचाउलगायतका उद्योगहरूले आफ्नो उत्पादनमा भारी कटौती गर्नुपरेको जानकारी दिएका छन् । मैदा उत्पादन गर्दै आएका उद्योगीहरूले विश्वव्यापीरूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको भन्दै प्रतिक्विन्टल चार हजार आठ सय रूपैयाँमा गहुँ किनेर दुई हजार रूपैयाँमा मैदा बिक्री गर्न नसक्ने भन्दै प्रतिबोरा सात सय रूपैयाँ मूल्यमा वृद्धि गरी दुई हजार सात सय रूपैयाँ मूल्य कायम गरेका छन् ।

मैदामा प्रतिबोरा सात सय रूपैयाँले मूल्यवृद्धि भएपछि आफ्नो उद्योगको उत्पादन नै कटौती गर्नुपरेको यहाँ सञ्चालित बिस्कुट, पाउरोटी, चाउचाउलगायतका उद्योगीहरूले बताएका छन् । तीन महिना पहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको असर अहिले आएर नेपाली उद्योगहरूमा पर्न थालेको उद्योगीहरूको भनाइ छ । यस्तै अवस्था रही रहेमा छिटै बिस्कुट, पाउरोटी, चाउचाउलगायतका उद्योगहरूले मजदुर तथा कर्मचारी पनि कटौती गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

एक उद्योगीका अनुसार भारतले निर्यात रोकेपछि गहुँको मूल्य केही त बढेको हो तर यही बहाना बनाएर मैदा उत्पादन गर्ने उद्योगीले गहुँको पिठो र मैदा उत्पादनमा गहुँको अभाव देखाउँदै मनपरी मूल्य कायम गर्नु नियमविपरीत छ । यस्तै मैदा उत्पादन गर्ने उद्योगीहरूले अन्य उद्योगलाई मैदा बिक्री गर्दा दोहोरो बिक्रीबिलको प्रयोग गर्नेगरेको पाइएको छ । कुनै बिस्कुट तथा चाउचाउ उद्योगलाई पाँच गाडी मैदा बिक्रीको सम्झौता गर्ने मैदा उद्योगले तीनदेखि चार गाडी मैदा बिक्री गर्दा पक्का बीलमा गर्ने र एकदेखि दुई गाडी मैदा कच्चा बिलका भरमा छिराएर मैदा खरिद गर्ने उद्योगमा भुक्तानीका लागि बिल पठाउने गरेको पाइएको हो । यसरी मैदा उद्योगीले दोहोरो लाभ लिइरहेका छन् । स्रोतका अनुसार मैदा उद्योगीले एकातिर राज्यले पाउने राजस्व व्यापक छली गर्ने गर्दछन् भने अर्कोतिर भारतले गहुँको निर्यात रोकेको बहानामा मैदाको मूल्यमा भारी मूल्य वृद्धि गरेर बजारमा मैदाको अभाव देखाउन थालेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरका बिस्कुट, चाउचाउ र पाउरोटीलगायतका उद्योगहरूले मैदा उद्योगीको कच्चा बिल र पक्का बिलको खेलादेखि मैदामा भएको व्यापक मूल्यवृद्धि नियन्त्रणमा सरकारले ठोस निर्णय नगर्ने हो भने मैदाकै कारण आफ्नो उत्पादन कटौती गरेर उद्योगमा कार्यरत मजदुरलाई समेत पाल्न नसक्ने अवस्था आउने गुनोसो गर्न थालेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोर मात्रै नभएर पूरै देशमा सञ्चालन रहेका चाउचाउ उद्योगका लागि गहुँको आयात भारतमाथि नै निर्भर रहुनुपरेको छ ।

भारत सरकारले गत जेठ महिनामा नै आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यात रोक्ने निर्णय गरेको थियो । भारतलगायत नेपालमा गहुँको प्रयोग रोटी बनाउनेदेखि चाउचाउ, बिस्कुट र नुडल्सलगायतका खाद्यवस्तु उत्पादनमा गहुँको मैदा अत्यधिक मात्रामा प्रयोग गर्ने गरिन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x