Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदुधको बढ्दो माग र न्यून उत्पादन

दुधको बढ्दो माग र न्यून उत्पादन


काठमाडौं । दुध तथा दुग्धजन्य पदार्थ भर्खर जन्मेको बालकदेखि वृद्धसम्मलाई अति आवश्यक पर्ने पेय पदार्थ हो । यसमा हाल घट्दो दुधको उत्पादन बढ्दो मागको कारणले तालमेल हुन सकेको छैन । यसको आपूर्ति उचितरूपमा हुनुपर्ने हो । तर हुन सकिरहेको छैन । यसतर्फ पनि सरकारको ध्यान नपुगेको उपभोक्ताहरूको गुनासो रहीआएको यत्रतत्र भएको पाइन्छ । मूलतः देशमा वार्षिक २३ लाख एक हजार टन दुध उत्पादन हुने सरकारी तथ्यांकले देखाएको छ । यसमा दुध उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैंसीको दुध उत्पादन हुने अनुमान गरिएको छ । यसर्थ दुध पशुजन्य उत्पादनको एक मुख्य नगदेबालीको रूपमा रहेको छ । यसको साथै दुग्ध विकास बोर्डको प्रतिवेदनमा उल्लिखित तथ्यांकअनुसार हाल वार्षिकरूपमा औसत दुई अर्ब रुपैयाँबराबरको विभिन्न दुग्धजन्य पदार्थ आयात हुँदै आएको छ । यसका खासगरी चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दुध मिश्रण भएका खाद्यपदार्थको समेत हिसाब गर्दा वार्षिकरूपमा चार अर्बसम्मका दुग्धजन्य पदार्थ आयात हुनेगरेको देखिन्छ ।

कृषिका विभिन्न विधाहरूमध्ये दुग्ध व्यावसाय पनि एक प्रमुख पेसा हो । देशमा पशुजन्य र कृषिजन्य उत्पादनको महत्वपूर्ण योगदान रहेको छ । यसरी पशुपालन र कृषिको सम्बन्ध एक अर्कोमा घनिष्ठ रहेको छ । मुलुकमा कृषिको योगदान दिनहुँ बढ्दै गएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको छ । देशको बारेमा कुरा गर्ने हो भने मुलुकमा वार्षिक २३ लाख एक हजार मेट्रिक टन दुध उत्पादन हुने अनुमान गरिएको छ । जसमध्ये संगठित क्षेत्रको कारोबारबाट कुल उत्पादनको १५ प्रतिशतले मात्र बजार पाउन सकिरहेको छ । यसैगरी ३५ प्रतिशत दुध अनौपचारिक क्षेत्रको माध्यमबाट छुर्पी, खुवा, घिउजस्ता परम्परागत दुग्धजन्य पदार्थ उत्पादनमा खपत भइरहेको छ । बाँकी ५० प्रतिशत दुध किसान स्वयंले खपत गरिरहेको पाइन्छ ।

नेपालभर औसत दैनिकरूपमा करिब छ लाख ३९ हजार लिटर दुध संगठित क्षेत्रको माध्यमबाट बिक्रीवितरण भई वार्षिक करिब सात अर्ब रुपैयाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र दैनिक करिब ८० हजार लिटर दुध वितरण भइरहेको र मुुलुकभर ९५ हजारदेखि एक लाख लिटरसम्म वितरण भइरहेको डीडीसीले जानकारी दिएको छ । यसर्थ मुलुकमा दुग्ध प्रशोधन, ओसारपसार, बिक्रीवितरण कार्यमा करिब २० हजारले प्रत्यक्षरूपमा रोजगारी पाउनुका साथै देशभर करिब पाँच लाख किसान परिवारहरू प्रत्यक्षरूपमा रोजगारी प्रदान गरी गरिबी निवारणको उल्लेखनीय योगदान पु-याउँदै आउनुको साथै लाभान्वित भइरहेका छन् । यसर्थ ग्रामीण अर्थतन्त्रको मुख्य आधारस्तम्भ रहेको पशुपालन व्यवसायले स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा गरेको योगदानकै कारण देश विकासमा यसलाई महत्व दिँदै आएको छ । भौगोलिक र वातावरणीय अनुकूलताले गर्दा नेपालमा पशुपालनको प्रचुर सम्भावना रहेको तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले यस क्षेत्रलाई नेपालको समग्र विकासमा प्रमुख योगदान दिने व्यवसायका रूपमा समेत चित्रण गरेको छ ।

समग्रमा भन्नुपर्दा चार वर्षअघि दैनिक ४० हजार लिटर दुध संकलन गरेर विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य उत्पादन बजारमा पु¥याउँदै आएको थियो । त्यस्तै, डीडीसीले सबैभन्दा धेरै दुध संकलन गर्दै आएको इलामबाटै अहिले दुध ल्याउन नसक्दा विराटनगर आयोजना समस्यामा छ । त्यसरी नै अन्य क्षेत्रहरूमा पनि दुध उत्पादन घट्दै गएको सम्बन्धित निकायहरूले जनाएका छन् । देशमा भदौ दोस्रो सातादेखि पुसदेखि माघसम्म दुध उत्पादन बढी हुने भएकाले यस अवधिलाई दुधको सिजन मान्ने गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दुधको उत्पादन र उत्पादकत्ववृद्धि गरी देशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवर्द्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ । यसर्थ राष्ट्रको कृषि वा पशुपालनलाई जीवन निर्वाहको बाटो नजानेर व्यवसायकै रूपमा अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । मुलुकमा आधुनिक तथा संगठित रूपमा दुग्ध व्यवसायको सुरुवात विसं २००९ मा कृषि विभागअन्तर्गत काभ्रेको टुसाल गाउँमा सीमित क्षमताको दुग्ध प्रशोधनशाला स्थापना गरी भएको थियो । त्यसअघिसम्म जति पनि दुध बिक्रीवितरण हुन्थ्यो । ती सबै काँचो दुध परम्परागतरूपमा माना र पाथीमा नापेर हुने गथ्र्यो ।

विसं २००९ मा सुरु भएको दुग्ध प्रशोधन कार्यलाई विसं २०११ मा तत्कालीन कृषि विभागअन्तर्गत दुग्ध विकास शाखाको स्थापना भई विसं २०१३ मा न्युजिल्यान्ड सरकारको आर्थिक र संयुक्त राष्ट्रसंघअन्तर्गत खाद्य कृषि संगठनको प्राविधिक सहयोगमा काठमाडांैको लैनचौरमा पाँच सय लिटर प्रतिघन्टा दुध प्रशोधन गर्नसक्ने क्षमता भएको दुग्ध प्रशोधनशाला स्थापना भएको थियो । यसर्थ देशमा दुग्ध क्षेत्रको विकासक्रमलाई अझ नियालेर हेर्दा राणाकालदेखि नै दुग्ध व्यवसायको सुरुवात भएको देखिन्छ । सन् १९१७ मा अर्थात् राणाकालमा युरोपबाट जर्सी गाई आयात गरेको देखिन्छ । यसरी मुलुकमा तीव्ररूपमा वृद्धि हुँदै गएको सरकारी तथा निजी दुवै क्षेत्रका दुग्ध उद्योग र दुग्ध उत्पादक सहकारी संघ–संस्थाबीच सामञ्जस्य गराई राष्ट्रियस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति–निर्माण तथा दुग्ध विकास योजना तर्जुमा गरिएको थियो । यसको साथसाथै नेपाल सरकारलाई आवश्यक परेको समयमा राय सुझावसमेत दिन बोर्ड ऐन ०४८ अनुसार विसं ०४९ वैशाख १७ मा राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना भई आफ्नो उद्देश्यअनुरूप सञ्चालन हुँदै आएको थियो ।

पछिल्लो समय कृषक गाईभैँसी पाल्न छाडी अन्य व्यवसाय सञ्चालन गर्न थालेकोले पनि दुध उत्पादन दिनप्रतिदिन घट्दै गएको छ । दुधको माग बढ्दै गए पनि सोहीअनुरूप उत्पादन हुन नसक्दा मूल्य बढाउनु परेको हो । यद्यपि, तत्काल दुधको मूल्य बढाइएको केही समयपछि अन्य दुग्धजन्य उत्पादनमा समेत मूल्य बढाउने तयारीमा संस्थान रहेको छ । यहाँ चाहेजति उत्पादन हुन नसक्दा भारतबाट दुध आयात गर्नुपरेको हो । पछिल्लो समय दुधको उत्पादन नै कम हुन थालेपछि बजारका मागअनुरूप आपूर्ति गर्न सकिएको छैन । हाल पनि बजारमा दुध अभाव रहेको छ । सरकारी स्वामित्वमा सञ्चालन भएको संस्थाले मागअनुरूप दुध वितरण गर्न नसक्दा पछिल्लो समय निजीस्तरबाट सञ्चालित डेरीले दुध बजारको आधा हिस्सा ओगटेको छ । सरकारले दुध उत्पादन गर्ने वस्तुहरूको मूल्यमा वृद्धिको साथसाथै दुधको पनि मूल्य बढाइएको बुझिएको छ ।

पछिल्लो समय दुधको उत्पादन नै कम हुन थालेपछि बजार मागअनुसार आपूर्ति गर्न नसकिएको संस्थानले बताउँदै आएको छ । अहिले पनि बजारमा दैनिक तीन लाख लिटर दुधको अभाव रहेको छ । स्थानीय उत्पादनले बजार माग धान्न नसकेपछि भारतबट दैनिक ३० देखि ३५ हजार लिटर दुध आयात गर्नेगरेको छ । अतः बढ्दो जनसंख्यासँगै दुधको माग पनि बढ्दै गएकाले स्थानीय माग पूरा गर्न भारतबाट ठूलो परिमाणमा दुध संस्थानले आयात गर्दै आएको छ । पछिल्लो समय कृषक गाईभैँसी पाल्न छाडी अन्य व्यवसाय सञ्चालन गर्न थालेकाले पनि दुध उत्पादन दिनप्रतिदिन घट्दै गएको छ । संस्थानले कृषकहरूसँग दुध संकलन गरी बिक्री गर्नेगरेको छ, जसमा ६० प्रतिशत भैँसीको र ४० प्रतिशत दुध गाईबाट उत्पादन हुनेगरेको छ । सरकारी स्वामित्वमा सञ्चालन भएको संस्थानले मागअनुसार दुध वितरण गर्न नसक्दा पछिल्लो समय निजीस्तरबाट सञ्चालित डेरीले दुध बजारको आधा हिस्सा ओगटेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x