Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८७ दल सहभागी हुने

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८७ दल सहभागी हुने


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जानकारी दिएको छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनावचिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चारवटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन दिएका थिए । राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने दलको संख्या ८७ कायम गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनमा एकलरूपमा सहभागी हुने दलको संख्या ७५ रहेको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या चारवटा रहेको छ । सोहीअनुसार आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मतपत्रमा ७९ वटा दलको निर्वाचन चिह्न रहने आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ सबैभन्दा बढी मधेश प्रदेशमा ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या चार/चारवटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्यतर्फको मतपत्रमा प्रदेश नं. १ मा ६२, मधेश प्रदेशमा ६७, बागमती प्रदेशमा ६४, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ६०, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरू रहनेछन् ।

छुट्टै दल दर्ता गर्न नपर्ने
निर्वाचन आयोगले एउटै निर्वाचन चिह्नबाट चुनाव लड्ने गरी दल दर्ता भएका राजनीतिक दलहरूलाई छुट्टै दल दर्ता गर्न नपर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचनमा सहभागी हुन छुट्टै दर्ता हुन नपर्ने आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)ले छुट्टै दल दर्ता गर्न नपर्ने भएको हो । ती दलहरूले कुनै दलसँग एकै चुनावचिह्नबाट लड्ने गरी आयोगमा दल दर्ता गराएका छन् । जसमा माओवादी केन्द्र र नेसपाले एकै चुनावचिह्नमा लड्ने गरी दल दर्ता गराएका हुन् । ‘राजनीतिक दलहरूले अनुसूची–१२ बमोजिमको निवेदन पेस गरेकोमा ती दलहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनावचिह्न लिई निर्वाचनमा सहभागी हुने गरी राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को अनुसूची–१३ बमोजिमको दल दर्ताको निवदेन पेस गरेको हुँदा ती दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (५) बमोजिम छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ’, सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनचिह्न माग गर्ने दललाई निर्वाचनचिह्न प्रदान
यस्तै आयोगले निर्वाचनचिह्न माग गर्ने दलहरूलाई सोही दलले मागेको चिह्न उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचनचिह्न दल दर्ताको निवेदन पेस गर्दा माग गरेको देखिँदा उक्त दलहरूलाई मागबमोजिमकै तत्तत् निर्वाचनचिह्न प्रदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । साथै उक्त चिह्नहरू तत्तत् दलको निर्वाचनचिह्नको रूपमा रहने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ ।

निर्वाचनचिह्न प्रदान गरी राजपत्रमा प्रकाशन गर्ने
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिन आयोगका दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचनचिह्न प्रदान गरी सोको क्रम निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

आयोगले २०७४ सालमा भएको प्रतिनिधि सभा/प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले उक्त निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचनचिह्न मतपत्रमा समावेश गर्ने निर्णय गरेको जनाएको छ । यसरी निर्धारण गरिएका निर्वाचनचिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको हो । यसअनुसार नेकपा एमालेको चुनावचिह्न पहिलो, नेपाली कांग्रेसको दोस्रो, नेकपा माओवादी केन्द्रको तेस्रो क्रम संख्यामा पर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x